Friday, October 5, 2007

छिमेकमा आगो लागेको बेला निदाउन सक्नुहुन्छ ?

सवाल जवाफ

एक मित्रले मलाई आज बेस्सरी छाटेर इमेल लेख्नुभएछ । मैले उहालाई चिनेको त छैन । तर उहाको लेखाइलाई सम्मान गर्दै मैले आफ्नो कुरा पनि उहालाई मेलमै पठाइदिए । त्यो सवाल जवाफ तपाइलाइ पनि काम लाग्ला एक छिन मुड प्रुेस गराउनका लागि भए पनि भनेर मैले यहा पोष्ट गरेको छु । आगे तपाइको जो इच्छा ।

 सवाल

दिनेश जी !!!  तपाईँ जो हुनुहुन्छ, तपाईँले उठाएको बिषय ठिकै होला । तर मलाई एउटा घटना याद आयो , जव रुवाण्डा र बुरुण्डिमा तुत्सु र हुतु जातीको बीच जातिय युद्ध भयो र करिब ८ लाख मानिस मरे, तव विश्वका अधिकारबादीहरूको ध्यान भिक्टोरिया तालमा फेँकिएका लाश कुहिएर त्यसको दुर्गन्धले नाइल नदिमा बस्ने जलजन्तुको स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभाबमा गएको थियो ।

तपाईँले उठाएको बिषय यस्तै भएन र ???? तपाईलाई कपिलबस्तु दुखेन, मध्य तराई दुखेन, नेपाल दुखेन, देशको भबिश्य दुखेन, बिस्थापितले खान नपाएको दुखेन, देशको अर्थतन्त्र ओरालो लागेको दुखेन, यो देशका युवाको अन्धकार भबिष्य दुखेन, बालकको बाँच्न पाउने अधिकार खोसिएको दुखेन, आमा बाबाहरूको पुत्र-पुत्री शोक दुखेन, यो देश जो तपाईको वास्तामा परेन, त्यसको अबस्था केहि दुखेन ; दुख्यो त केवल बुद्धका अनुयायी मरेको दुख्यो, बुद्ध आफ्नै देशमा आफ्नै बान्धबले मारेको दुखेन । तपाई अभियान चलाउँदै हुनुहुन्छ नचिनेको मानिसको ई-मेलमा २-४ शब्द टाइप हानेर। तपाईले बजारको नियमानुसार आफुलाई चिनाउने खेल त सफल गर्नु होला, तर मलाई यसमा कुनै मतलब छैन, कृपा गरी यस्तो मेल मलाई पठाउने कष्ट अवका दिनमा नगर्नु होला।

ईतिहासको सबभन्दा नालायक हामी युवा पुस्ताले अरुको बिषयमा बोलेको, लेखेको, सोचेको केहि- कत्ती पनि सुहाउँदैन अपरिचित मित्र !!सक्नुहुन्छ त नेपाललाई टुक्क्रनबाट बचाउने जादु देखाउनोस् , आजसम्म जन्मेका बालबालिकाको भबिश्य त अन्धकार भइ नै सक्यो, अब जन्मने बच्चाले पनि त्यो दुख नभोग्ने पार्न प्रयास गर्नुस्, हैन भने नालायकले बोल्नु धिक्कार छ चुपो लागेर बस्नुस् ।

 Umesh Ghimire, Nepal Bank Ltd

जवाफ

अपरिचित उमेशजी,  तपाइले उठाएका विषयबस्तु्रति मेरो सोह्रै आना समर्थन छ । एउटा संचारकर्मीको नाताले बिश्वखबरबाट सुसुचित हुनुपर्छ र हाम्रा आवाजहरुले पनि बिश्व समुदायको प्रतिनिधित्व गर्नुपर्छ भन्ने धारणा मेरो हो । ब्लग मेरो आफ्नो ब्यक्तिगत बिचार हो । तपाइको असहमतिलाई पनि मैले कमेन्टभित्र अटाउने स्थान सुरक्षित गरेको छु ।
तपाइले दिएको रुवान्डाको कथाभित्रका सत्य असत्य हामी नखोजौं । समुन्द्रका जीवको समस्यालाई पनि नजरअन्दाज नगरौं । तर रुवान्डा र बुरुन्डीको घटनामा म साक्षी छैन र दावी पनि गर्न सक्दीन । तर मैले सुनेको पढेको र बुझेको सत्य यो पनि हो कि त्यहाको युद्धको बिरोध गर्नेहरु पनि थिए । त्यो हिसाको बिरोध गर्ने र पीडितलाई सहयोग गर्नेहरु पनि थिए ।
एउटा गलत उदाहरणले अर्को गल्तीको ढाकछोप कदापी हुन सक्दैन । तसर्थ बर्माको हिसांको बिरोध गर्नु भनेको कपिलबस्तु हिसाको समर्थन गरेको पक्कै हैन । यस्तो एकांकी बुझाइलाई छाडौं । बिश्व ब्यापार संघको सदस्य बनेको देशको ठुलो बैंकको कर्मचारी भएर तपाइ पूर्ण रुपमा विदेशी खबरबाट बेखबर रहन सक्नुहुन्छ ? तपाइले सिकेका ज्ञान र तपाइको बोसको बिदेशी अनुहारले त्यो दिन्छ ? 
के स्वतन्त्रता एउटा देशको मात्र पेवा हुनसक्छ नेपालको आन्दोलनमा सहयोग र सद्भाव देखाउने बिदेशी मित्रहरु सबै मुर्ख नै हुन त ? छिमेकमा आगो लागेको बेला तपाइ आफ्नो शयनकक्षमा निस्फीक्री निदाउन सक्नुहुन्छ ?
नेपालको लोकतान्त्रीक आन्दोलमा बर्मेली प्रजातन्त्रवादीको समर्थन थियो तर त्यो समर्थनको अर्थ आफ्नै दजुभाइको घरमा आगो लगाउने मुर्खहरुको अगाडि ढाल बनेर आइदिनुपर्छ भन्ने तपाइको धारणा हो ? बर्मेली आन्दोलन र मधेशको आन्दोलन फरक विषय हुन । स्वतन्त्रता सबैको सरोकारको विषय हुनुपर्छ भन्ने मेरो मान्यता हो । हरेक क्षेत्रमा गणितका सुत्रहरु लागु हुदैनन । राजनीतिक दर्शनका ब्याख्याहरुको पनि जरुरत पर्छ ।
िहंसामा सबैको क्षय हुन्छ । अिहंसामा सबैको जय हुन्छ । स्वतन्त्रता बिनाको शान्ती मुर्दा शान्ती हो । त्यो बन्दुक बोकेका गार्डलाई ढोकामा राखेर साघुरो क्याबिनमा दिन बिताउने तपाइहरुका लागि मान्य होला । म जस्तो हरेक दिन समाचारको खोजीमा सडक नाप्दै भौतारिनेहरुका लागि सैहय हुदैन ।
अर्को कुरा मेरा एक मित्रले पठाएको मेललाई मैले रिप्लाइ अल गरेर त्यो सन्देश पठाएको थिए । जसमा तपाइको इमेल पनि सिसि रहेछ । तपाइको बहुमुल्य इमेल खोजेर आफनो प्रचार गर्ने कुनै रहर छैन र त्यो धृष्टता पनि गर्दिन । अन्जानमा भएको गल्तीमा क्षमा माग्छु । मैले सुनेको छु- गल्ती स्विकार्नुभन्दा ठुलो महानता अरु छैन ।
तपाइलाई आफ्नो नाम बेचेर मलाइ केही फाइदा हुन्छ जस्तोचाही अहिले पनि लाग्दैन । आखिर म त संचारकर्मी जो सेवा गर्छ । बरु तपाइ पो ब्यापारी । बजार अर्थतन्त्रको जसतो प्रचारको लोभ हैन किनभने म पत्रकारिताको बिद्यार्थी हुँ । १२ बर्षदेखि पत्रकारितामा लाग्दा मनमै गुम्सेर बसेका कुराहरु लेख्ने ब्लग मेरो ब्यक्तिगत डायरी हो । सहमति असहमति तपाइको जे होस मेरो मतलब छैन । मेरो ब्यक्तिगत धारणा तपाइ पढ्न पनि सक्नुहुन्छ । हेर्दै नहेरेर बहिष्कार गर्न पनि सक्नुहुन्छ । तपाइलाई मेरो कुरा पढिदिनुस भनेर म भन्दीन किनभने यसबाट मलाइ केही फाइदा छैन । बरु यदाकदा कहिलेकाही तपाइजस्ताकै गाली खेप्नुपर्छ ।
यो पत्र तपाइको पत्रको प्रतिवादको रुपमा नलिनुहुन बिनम्र अनुरोध छ । यो त मेरो ब्यक्तिगत धारणा मात्र हो । तपाइको पत्रसित सहमत हुदाहुदै पनि मैले यति नोट अफ डिसेन्ट लेख्न बाध्य भएकोमा माफी चाहदै बाइ ।
दिनेश आचार्य
जनताको ब्लग

Posted by Diness Acharya at 15:28:06 | Permalink | No Comments »