Friday, December 21, 2007

सौन्दर्यशास्त्रको नयाँ मानक

बुह्रान, सारी सोल्जर र पाथेर पाचाली
-यज्ञश
२०१८ साल तिरको दाङ । एउटा थारु वस्ती छ । वस्तीमा विभिन्न उमेरका थारु आदिवासीहरु देखिन्छन् । यीनमा आधा शरिरमात्र ढाक्ने लंगौटी लगाएका पुरुषदेखि पालैपालो कपडा खोलेर खोलामा हेलिने स्त्रिसम्म छन् । वस्तीमा मान्छे जति नै काला संगुरका पाठा र विरहरु पनि देखिन्छन् । वस्तीको छेउमा एउटा पक्की घर छ । वस्तीका मान्छेसँग न यीनको रंग मिल्छ न रुप र भाषा । तर यो पक्कि घरको केटो र झुपडीकी एउटी केटीको भने सुटुक्क मन मिल्छ । कसैले थाहै नपाई परालको टौवामुनि गोठमा बाधिएका भैसीका आखा अगाडि यीनको डेटिङ सुरु हुन्छ । एकैपटक थारु नेताकी यी किशोरीको शरिर अस्वभाविक तरिकाले बढ्न थालेपछि बल्ल पधेर्नीहरुले मेसो पाउँछन् । र यो मेसोसँगै पक्कि घरको लामो कपाल पालेको युवाले पनि डाडो काट्छ ।
काठमाडौं माउन्टेन फिल्म फेष्टिवलमा देखाइएको थारु भाषाको फिल्म ‘बुह्रान’को कथा हो यो । पछिल्ला केही बर्षदेखि बर्षेनी राजधानीमा हुँदै आएको महोत्वसवमा देखाइएका केही राम्रा फिल्ममा यो पनि सामेल थियो । दाङका युवा अजित लामिछानेले बनाएको यो फिल्म धेरै अर्थमा समाजिक देखियो । चल्तीका मुलधारका फिल्मको तुलनामा कुनै अर्कै प्रदेशको जस्तो लाग्ने यो फिल्ममा २०१८ सालतिरको एउटा सानो थारु वस्तीको पलायनको कथा भनिएको छ । तीस बर्षकी भाउजुसँग विवाह गर्ने तेह्र बर्षको फुच्चे देवरमात्र होइन फिल्ममा जमिन्दारका छोरी ज्वाई बोक्न पहाडमा डोली लिएर जाने वयस्क थारु पनि छन् । छोरालाई कमैया र छोरीलाई कमलरी पठाएर पैसा कमाउने सपना देख्ने बाबु पनि फिल्ममा छन् । र, छ जमिन्दारको ऋण र छोरीको शरिर एउटै रपुतारमा बढ्न थालेपछि बसाई सर्ने मुखियाको विजोगकको कथा ।
यस्तै एउटा गाउँको विजोगको कथा साठी बर्षअघि भारतीय पर्दामा पनि सल्बलाएको थियो । एशियाका सबैभन्दा चर्चित निर्देशक सत्यजित रेले बनाएको पहिलो फिल्म ‘पाथेर पाचाली’मा । नियमितरुपमा चर्चित फिल्म देखाउदै आएको मार्टिन चौतारीले यो साता यो फिल्म देखायो । स्वतन्त्र भारतमा जमिन्दारीको विघटनपछि प्रतिष्ठाको मानक जमिनको सट्टा नोट हुनथाल्यो । र थुप्रै ‘िहंग बाँधेका टालाहरु’ मजदुरीका लागि  बनारसका बजारमा ओर्लिन थाले । एउटा यस्तै अधबैसेंको गरिबिको गाथा यो फिल्ममा थियो । थारु भाषाको ‘बुह्रान’मा जस्तै बंगाली भाषाको ‘पाथेर पाचाली’ मा पनि एउटा परिवारको पलायनको कथा थियो । विश्वभर तहल्का मच्चाएको यो फिल्मको जस्तो कथा भन्ने निर्देशकको आपुनो शैली ‘बुह्रान’मा पाइदैन । तर उधारो लिएकै शैलीमा भएपनि यो फिल्म देशको एउटा कथा भन्छ । आपुनै पिता पुर्खाले ज्यान जोखिममा हालेर खेतीयोग्य बनाएको जमिनमा सय बर्ष नपुग्दै अर्कैलाई जमिन्दार थापना गर्नुपरेको थारु समाजको पीडाको गहिराईसम्म यो फिल्म पुग्दैन । राजनीतिक दृष्टिलाई पाखामा थन्काएको भएपनि फिल्मले कम्तिमा इतिहासको एउटा कालखण्डको एउटा जातिमाथिको शोषणको कथा भने अवश्य भन्छ ।
यी दुई फिल्मको विपरित अर्को एउटा फिल्म पनि यसपाली माउन्टेन फिल्म फेष्टिवलमा देखाइयो । वर्तमान समयका केही प्रतिनिधी महिलाहरुले युद्धमा खेपेको पीडा र त्यसले जन्माएको साहसको कथा समेटीएको डकुमेन्ट्री ‘सारी सोल्जर’ महोत्सवको सबैभन्दा चर्चित फिल्म थियो । पचास बर्ष अगाडिको समाजको कथा ‘बुह्रान’को तुलनामा यो फिल्मको संवेदना बढी तिखो थियो । दश बर्षे जनयुद्धको उत्कर्षमा भिन्न-भिन्न स्थानमा बसेर युद्धको अनुभूति गरेका छ महिला पात्रको मनोदशा फिल्ममा कैद गरिएको छ । निकै लामो सयम लगाएर एक अमेरिकी महिलाले बनाएको यो फिल्मले जनयुद्धको राजनीतिक पाटोलाई सुन्दर ढंगले उजागर गर्दछ ।
पामुकको कवितामा वर्णन गरिएकी ‘सलक्क कपाल कोरेकी सहिद जन्माउने आइमाई’ जस्तै लाग्नेगरि कपाल कोरिरहेकी देवि सुनुवार असनको एउटा साँघुरो गल्लीको भुयालमा प्रकट हुन्छिन् । र सुरु हुन्छ उनको अनन्त दुखले भरिएको वेपत्ता छोरी खोज्ने पीडा यात्रा । उनका साथमा संवेदना बाँधिएका श्रीमान् र अधिवक्ता मन्दिरा शर्मा देखिन्छन् । सेनाले अपहरण गरेर हत्या गरेकी किशोरी मैना सुनावारकी आमा हुन् देवी । यीनका विषयमा कवि श्यामलले कवितासमेत लेखिसकेका छन् । छोरी हराएको खबरदेखि कंकाल पत्ता लाग्दासम्मको अध्यारा दिनको वर्णन फिल्ममा छ । टन्टलापुर घाममा पनि कसैका आखामा अध्यारोमात्र देख्छन् भन्ने उदाहरण देविका आखाले दिन्छन् । 
यीनका साथमा काठमाडौंकी अर्की एक युवति पनि फिल्ममा छन्- रजनी अधिकारी । सेनामा रहेका दाजुको युद्धमा मृत्यु भएपछि उनी शाही सेनाको पहिलो लटको महिला अफिसरको भर्तीमा लामबद्ध छिन् । ‘देशका लागि केही गर्ने’ जोशमा उनी बन्दुक समाउदै छिन् । र खरिपाटीमा ठड्याइएका डमी माओवादीलाई गोलीले उडाएर दाजुको बदला लिइरहेकी छिन् । यस्तै बन्दुक बोकेकी अर्की महिलाको कथा भने बेग्लै छ । कमला रोक्काबाट क. क्रान्तिमा रुपान्तिरित भएकी यी रोल्पाकी महिला अहिले देशकी सांसद् भइसकेकी छन् । तर ‘क्रान्तिकाल’ की कमलाको कथा बेग्लै छ । दुस्मनको घेरो तोड्दै अघि बढेका उनका सनसनीपूर्ण कथाले फिल्मलाई मोफसलतिर लैजान्छ ।
मोफसलको एउटा कुनो दैलेखको दुल्लुमा छिन् - कृष्णा शाह । राजाको सरकारको समर्थनमा गठन गरिएको पहिलो नागरिक समाज वा प्रतिकार समितिकी यी संयोजक राजाको सत्ता ढलिसक्दा पनि आशा मार्दिनन् । बरु भन्छिन्- ‘राजा विनाको सरकार र टाउको विनाको हात्तिजस्तो हुन्छु । जुलुस गर्न निस्किएका पार्टीका कार्यकर्तालाई उनी केरकार गर्छिन्- ‘यत्रो समय कहाँ हराएका थियौ अहिले एक्कासी जुलुस लगाउन सरम लाग्दैन, यता काठमाडौंमा दैनिक जुलुस गर्ने राम l’ (लेखक नया पत्रिकामा कार्यरत छन, प्रस्तुत लेख सोही पत्रिकामा प्रकाशित भैसकेको हो )
Posted by Diness Acharya at 13:49:00 | Permalink | Comments (2)

Sunday, September 30, 2007

बाबासित बिश्वमणी

मैले अनुभव गरेको रामदेब

काठमाडोंमा बिवादास्पद ६ दिने योग शिबिर सकेर पतन्जली योग पीठ फर्कन लागेका बाबा रामदेबलाई भेट्न एअरपोर्ट पुगेका मित्र बिश्वमणी सुबेदीको अनुभवलाई समे्टेकाछौं अतिथी कलममा ।-

योजनाबिना नै म अफिस छिरेको थिएँ । स्वामी रामदेवको काठमाडौं एयरपोर्टबाट फदैछन् भन्ने खबर अफिसमा आएको रहेछ । लाग्यो न आफ्नो बिट न चासोकै विषय । उनका सुरक्षुसम्बन्धी समाचार जो हो त्यसका लागि मेरा सूत्रहरु चौवीसैं घण्टा परिचालित भएपछि उनैलाई भेट्ने काम पनि परेन ।
तर अफिस छिर्दा कोही साथीको सरकारी प्रेसपास नभएको कारण विमानस्थलको अतिविशिष्ट कक्षमा बसेका रामदेव भेट्न नसक्ने भन्दै थिए । ती साथीको विकल्पका रुपमा अर्का साथीको नाम आयो । मेरो काम त सुन्ने मात्रै न हो सुनिरहेको थिए । झट्ट सम्पादक कृष्णज्वाला सरले ‘ल विश्वमणि सर तपाईं गर्नुस्’ भन्नुभयो । मेरो नराम्रो बानी के हो भने सम्पादकले भनेपछि नसक्ने काम पनि गरेरै देखाउनुपर्छ ।

समस्या थियो प्रेस पास नभएको । मसँग पनि नवीकरण गरेको प्रेस पासको अभाव थियो । प्रश्न उठ्यो अरु साथीहरुले नसकेको काम मैले कसरी गर्ने  एयरपोर्टका एसएसपी ढकबहादुर कार्कीलाई फोन गरें र सोधें- ‘सर स्वामीसँग मैले नभेटी नहुने भयो के गरौं ?’ उनले एयरपोर्ट आउनुभयो भने तपाईको सुरक्षा र सुविधाका लागि जे जे सक्छु मेरो जिम्मा भयो स्वामीले बोल्ने नबोल्नेबारे म केही भन्न सक्दिनँ ।’ उनको यस्तो जवाफ आएपछि साथी यज्ञस र म अफिसबाट ओर्लियौं । नयाँ पत्रिकामा काम गर्न थालेको ६ महिनापछि त्यही दिन हो म अफिसको गाडी चढेर रिपोर्टिङमा निस्किरहेको । 
एयरपोर्ट पुगियो । तर एसएसपीको फोन लागेन । एक महिला प्रहरीलाई एसएसपी साब कता हुनुहुन्छ भनेर सोधें । ‘ऊ पर जानुस् सेट बोकेको पुलिसलाई सोध्नुस् उहाँले भन्नुहुन्छु’- जवाफ यस्तो आयो । गाडीलाई पार्किङ्गमा पठाएर यज्ञश र म लुरुलुरु हिँड्दै सेटवाला पुलिसलाई भेट्न पुग्यो । ‘एसएसपी साुबलाई एउटा मान्छे आएको खबर पठाइदिनुपर्ने भयो’- यो मेरो आग्रह थियो । उनी सई साुब थिए । ‘तपाईको शुभनाम ? उनले सोधे । ‘म विश्वमणि’ जवाफ सकिएकै थिएन ‘नमस्कार हजुर यता सवारी होइबिक्सयोस्’ स्वतःस्फुर्त रुपमा उनले मलाई स्वागत गरे ।

तीनजना पुलिस लाम लागेका थिए । तर एउटा प्रहरी जवानले प्याच्च मुख खाले- ‘एकजनालाई मात्रै जान दिनु भन्ने आदेश छ हजुर…।’ यसो भनेपछि यज्ञश र म मुखामुख गर्यौं । हामी यज्ञशकै टेपरेकर्डर र क्यामेरा प्रयोग गर्ने योजनामा थियौं तर स्वागतमा ममात्रै परिरहेको थिएँ । मैले यज्ञशलाई ‘तपाईं स्वामीलाई भेटेर आउनुस् म यतै पर्खिन्छु भनें । उनले ‘हैन तपाईं जानुस् म पर्खिराख्छु भने । हतारमा दोहोरो सम्बाद कति गर्ने भनेर म गएँ स्वामीलाई भेट्न । अति विशिष्ट कक्षमा छिर्दाछिर्दै एसपी सर्वेन्द्र खनाललाई देखें । मैले उनलाई नमस्कार गरें । ‘ढिला भएन र ? जब सर्वेन्द्र सरले यसरी सोध्नुभयो बितेछ क्यार भन्दै हतार हतार स्वामीतिर लम्किएँ । पहिलोचोटी म ती स्वामीलाई भेट्दै थिएँ । अनि पहिलो भेटमा के भन्ने के भन्ने भयो मैले ‘गुरु प्रणामु’ भने । यति भनिनसक्दै एसएसपी ढकबहादुर कार्कीले आफू भएतिर मलाई बोलाए । चिया अफर गरे । कहाँ स्वामीको अन्तर्वार्ता लिन आएको कहाँ चियाको अफर । ‘होइन सर यो स्वामीलाई च्याप्प पारेर अन्तर्वार्ता लिऊँ अनि चिया पिउँला’… मैले यति भनेपछि ढकबहादुर जुरुक्क उठेर मलाई फेरि स्वामीतिर लगे । उनले स्वामीलाई हिन्दीमै भने- ‘अहिलेको मार्केटमा सबैभन्दा बढी सर्कुलेशन भएको नयाँ पत्रिकाको रिपोर्टर हो, मेरो भाइजस्तै हो कुरा गर्नुपर्यो भन्नुहुन्छ’ स्वामीले ‘हाँ भाइसाब क्वेस्चन किजिए’ भन्दै स्वीकारोक्ति दिए । केही प्रश्न गरें प्रश्न गरेपछि आफैं फोटो खिचें ।
स्वामीलाई भेटेपछि उनीसँग एउटा फोटो खिच्न मन लाग्यो । उनका एक सहयोगीलाई क्यामेरा दिएँ अनि स्वामीको छेउमा गएँ । फोटो खिच्न लागेको थाहा पाएपछि स्वामीले अनौपचारिक शैलीमा मलाई अंगालो हाले । अनि सोधे ‘कैसा है आपका न्युजपेपर॥’ मैले आफ्नै पत्रिकालाई नराम्रो भनुँला त ? अच्छा है भने । ‘अच्छा सा कभरेज किजिए’, उनले अनुरोध गरे । यतिाजेलमा एउटा फोटो खिचिसकिएको थियो । यसपछि स्वामीसँग बिदा मागें र आफूलाई भाग्यमानी सम्झिएर फर्किएँ ।
साँझ नगरकोटमा वैदेशिक रोजगार व्यवसायी संघको कार्यक्रममा सहकर्मी नारायण सापकोटा र म सँगै जानुपर्ने । नारायणजीको बाइकमा तेल सकिएको । जाँदा २० र आउँदा २० गरी ४० किलोमीटरका लागि तेल चाहिने । तेल कतै नपाइने । नारायणजीलाई फोन गरेर प्रहरी प्रधानकार्यालयस्थित महानिरीक्षकको निवासअगाडि बोलाएँ । निवासभित्र गएर इन्स्पेक्टर दीपक खरेललाई भने । नपाइने तेल बल्ल पाइयो भनेर ढुक्क भइयो । नारायणजी आउनुभयो । एउटा प्रहरी जवानको साथ लगाएर इन्स्पेक्टर खरेलले नारायणजीलाई प्रधान कार्यालयको कम्पाउण्डभित्र तेल हालिदिने व्यवस्था मिलाए । बिचरा नारायणजी ! नपाइने तेल बल्ल बल्ल पाइयो ट्यांकी खोलेर तेल हाल्नमात्र लागेको झयाप्प बत्ति गयो तीन लिटरभन्दा बढी तेल खसेन ।
मैले एक दुई लिटर तेल जोगाड गर्ने बचन दिएपछि नारायणजी फर्किनुभयो । रामदेवलाई भेटेका दिन साइत पर्ला भनेर हामी साँझ ६ बजे नगरकोटका लागि निस्कियौं । भक्तपुर औद्योगिक क्षेत्र पुगेको मात्रै थियौं मुसलधारे पानी दर्केर आयो । रेनकोर्ट छैन । भक्तपुरका एसपी पंकज श्रेष्ठलाई फोन गरे । प्रहरीको स्टोरमा थन्क्याएको रेनकोर्ट दिएर उनले गुन लगाए । त्यहाँबाट हुँइकिएर हामी खरिपाटीबाट नगरकोट उकालो लाग्यो ।
यति बेुा साढे सात बजेको छ । उकालो मात्रै के शुरु भएको थियो मोटरसाइकलको पछाडिको टायर पन्चेड भयो । हेर दशा रामदेव भेटेका दिन ! दुई भाइ त्यो अनकन्टार साँझ मोटरसाइकल घचेट्दै जसोतसो अगाडि बढ्यौं । बनाउने ठाउँ कतै छैन । खरिपाटी बजार सुनसान थियो । अलि अगाडि लागेपछि पुलिस चौकी भेटियो । यतिाजेलमा हामीले काठमाडौं फर्कने र मोटरसाइकल कतै थन्क्याउने निर्णय गरिसकेका थियौं । चौकीमा असई तपेन्द्र रहेछन् । मैले आफ्नो परिचय दिएँ उनले ‘दाई नमस्कारु’ भनेर स्वागत गरे । मोटरसाइकल राख्नेबारे कुरा भयो ।
काठमाडौं फर्कनुअघि नगरकोटमाथि पुगिसकेका व्यवसायी संघका उपाध्यक्षँ मदन महतलाई फर्कनेबारे नारायणजीले जानकारी दिनुभयो । तर उनले आफ्नै गाडी खरिपाटी पठाएर हामीलाई माथि पुग्ने व्यवस्था मिलाए । यसरी रामदेव भेटेका दिन एउटा दशाको शिकार बन्नुपर्दा म साइत पर्ने अन्धविश्वासबाट सदाका लागि मुक्त भएको छु । -bishwamani.subedi@gmail.com
 

 

Posted by Diness Acharya at 13:17:56 | Permalink | Comments (2)