निर्मल प्रधान जितबहादुर र कालु गुरुङको शेयरमा चलखेल
पूँजी बजारमा यो साता ठूलो चलखेल भएको छ । सेयर बजार र बैंकिङ क्षेत्रका खेलाडीहरु मिलेर यो साता कृत्रिम सेयर कारोबार गरेका छन् । आपसी मिलोमतोमा सेयर बजारका खेलाडीहरुले सर्वसाधारणलाई मात्रै होइन सरकार र पूँजी बजारका नियमनकर्ताहरुलाई समेत नक्कली कारोबार गरेर गुमराहमा पारेका छन् ।
नेपालको पुँजीबजारमा चलखेलका घटना नौला होइनन् । केही सीमित वर्गमा रहेको विभिन्न कम्पनीका सेयरको मूल्य बढाउने र घटाउने खेलमा तिनै सेयर बजारका खेलाडीहरु रहेका हुन्छन् । वितेको साता यस्तै घटना घटेको छ नेपालको सेयर बजारमा।
साताका चार दिन समग्र सेयर बजारमा गिरावट आएको थियो । तर अन्तिम दिन एकाएक बजारमा सुधार आयो । अधिकांश लगानीकर्ता रमाए ुबजारमा सुधार आयो अब नाफा हुन्छ । तर, यथार्थ अर्कै थियो । नेपालको सेयर बजार र बैंकिङ क्षेत्रका केही खेलाडीले सेयर बजारमा मिलेर ुखेलु खेलेका थिए।
बैंकिङ क्षेत्र र सेयर बजारका खेलाडीहरुको बीचमा भएको मिलोमतोको कारोवारले बजारमा सुधार आएको देखिएको छ । यसरी मिलेर कारोबार गर्नेहरुमा प्रायः सबै ठूला बैंक तथा वित्तीय संस्थाहरुको सेयर होल्ड गरेर बसेका लगानीकर्ता निर्मल प्रधान सेयर बजारमा नयाँ लाग्ने जग्गा व्यवसायी एवं रिलायवल फाइनान्सका अध्यक्ष कालु गुरुङ र बैंक डुबाउने भनेर चिनिएका एनबी समूहका साचालकहरु जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ रहेका छन् । यो साता एनबी समूहको लगानी रहेको नेशनल हाइड्रो नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको अत्यधिक कित्ता सेयर खरिद बिक्री भएका छन् । नेशनल हाइड्रोको मात्रै साता भरमा नौ लाख २५ हजार एक सय १३ कित्ता सेयर कारोबार भएको छ ।
त्यस्तै साताको अन्तिम दिन बिहीबार नेपाल बंगलादेश बैंकको साधारण सेयर दुई लाख ५१ हजार नौ सय ४५ कित्ता कारोबार भयो भने नेपाल क्रेडिट एन्ड कमर्श बैंकका दुई लाख चार हजार चार सय ६० कित्ता साधारण र दुई लाख कित्ता प्रवद्र्धक सेयरको कारोबार भएको छ । तर यो कारोबार अस्वभाविकरुपमा
भएको छ ।
नेपाल बंगलादेश बैंक र एनसीसीका साचालक एनबी समूहले तिनै बैंकबाट करोडौं रुपैयाँको ऋण लिएको छ । दुवै बैंकमा रहेको ऋण चुक्ता गर्न राष्ट्र बैंकले ताकेता गरिरहेको छ ।
ऋण नतिरेका कारण नेपाल बंगलादेश बैंकले संस्थापक समूह एनबीको प्रवद्र्धकहरुलाई कालो सूचीमा राखेको छ । यही असार महिनामा सो समूहले बैंकको ऋण तिर्नुपर्ने सीमा तोकिएको छ । त्यसको लागि सो समूहलाई रकम चाहिएको थियो । ऋण लिनका लागि सो समूहले बैंकको सेयर अरुको नाममा नामसारी गरिदिएको मात्रै हो ।
समाचार अनुसार एनबी समूहले सेयर व्यापारी निर्मल प्रधान र घर जग्गा व्यापारी कालु गुरुङसँग ऋण लिएको छ । प्रधानसँग आठ करोड र गुरुङसँग १५ करोड रुपैयाँ ऋण सो समूहका प्रमुखहरु लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठले लिएका छन् । ऋणको धरौटीको रुपमा समूहले आफ्ना बैंकको सेयर नामसारी गरिदिएका हुन् । सहमति अनुसार प्रधान र गुरुङले एक वर्षको लागि ऋण दिएका हुन् । एक वर्षपछि प्रधानलाई ११ करोड र गुरुङलाई २१ करोड रुपैयाँ फिर्ता दिने सहमति भएको छ । एनबी समूहले ऋण तिर्न सकेन भने प्रधान र गुरुङले सेयर सदाको लागि आफ्नो बनाउने सहमति पनि भएको छ । एनबी समूहको आर्थिक अवस्थाका कारण प्रधान र गुरुङले विश्वास नगरेका हुन् ।
प्रधानले राजधानी इन्भेष्टमेन्ट कम्पनीको नाममा र गुरुङले रिलायवल इन्भेष्टमेन्ट कम्पनीको नाममा सेयर खरिद गरेका छन् । गुरुङ रिलायवल फाइनान्स कम्पनीका अध्यक्ष समेत हुन भने प्रधान कुमारी बैंकका मुख्य सेयर लगानी कर्ता हुन् ।
यस आधारमा यो कारोबार मिलोमतोमा भएको देखिएको छ । दुवै बैंकको सेयर एउटै सेयर ब्रोकरले बिक्री र खरिद गरिएको छ । सेयर ब्रोकर नम्वर २५ र १४ ले यी सेयरहरु आफै बेच्ने र आफै किन्ने गरेका छन् । यसले पनि यो निष्पक्ष कारोबार होइन भन्ने पुष्टि भएको छ । यस्तो म्युचुअल ट्रेडिङलाई सेयर वजारमा किर्ते काम भनिन्छ । धेरैजसो देशमा यस्तो गर्न बंचित छ । नेपाल स्टक एक्सचेाजले मिलोमतोमा कारोबार गर्ने स्टक ब्रोकरलाई बेला बेलामा कारवाही पनि गर्दै आएको छ । बजारमा औपचारिक रुपमा कारोबार भएकोले पनि नियमनकर्ता निकायलाई शंका गर्ने ठाउँ समेत सेयर बजारका यी खेलाडीहरुले बाँकी राखेका छैनन् ।
निर्मल प्रधानले नेशनल हाइड्रोको सेयर खरिद गरेपछि भोलिपल्टै सो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बृद्धि भएको थियो । प्रधान संचारमाध्यमबाट आफूले व्यवस्थापन जिम्मा लिनका लागि सेयर खरिद गरेको प्रचार गरेका छन् । उनले आफूसँग नेशनल हाइड्रोको १५ लाख कित्ता सेयर रहेको र आठ लाख कित्ता खरिद गरेको समाचार नयाँ पत्रिका र नागारिक दैनिकमा छपाएका थिए । आफूले अझै पनि थप सेयर खरिद गरेर व्यवस्थापन नियन्त्रणमा लिने बताएका छन् । नेपाल बंगलादेश बैंकको साचालक समिति नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ । बैंकका सबैभन्दा ठूला ऋणीहरु प्रवद्र्धक भनिएको एनबी समूहका विभिन्न निजी कम्पनीहरु छन् । उनीहरुले बैंकबाट ऋण लिने नतिर्ने गरेका कारणक बैंक आर्थिक संकटमा परेको हो । राष्ट्र बैंकको व्यवस्थापनले सबै ऋण उठाउन तोकेता गरिरहेको छ । त्यस्तै एनसीसी बैंकमा पनि त्यस्तै अवस्था छ । संस्थापक समूह एनबीकै कम्पनीहरुमा दिइएको ऋण उठ्न नसकेपछि राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रकारका कारवाही पनि गरेको थियो ।