Sunday, August 3, 2008

राष्ट्रपतिलाई मनपर्‍यो श्रीमतीको नांगो फोटो

फ्रेन्च राष्ट्रपति निकोलस सार्कोजीकी श्रीमती कार्ला ब्रुनीले आफूले मोडलिङ गर्दाको नांगो फोटो देख्दासमेत श्रीमान् खिन्न नभएको बताएकी छिन् ।
पूर्व इटालियन मोडल ब्रुनीले सार्कोजीसँग गत तीन महिनाको प्रेम-सम्बन्धपछि गत फेब्रुअरीमा विवाह गरेकी हुन् । आफ्नो नांगो फोटो सार्वजनिक हुन सक्ने सम्भावनाप्रति उनले सार्कोजीलाई सचेत गराएकी थिइन् । तर, त्यो फोटो देख्दा सार्कोजीले उल्टै भने, ‘मलाई यो फोटो मन पर्‍यो । यसको एउटा पि्रन्ट पाउन सक्छु ?’ भ्यानिटी फेयर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा ब्रुनीले राष्ट्रपतिको यो भनाइ उद्धृत गरेकी छिन् ।
४० वर्षीय प्रथम महिला ब्रुनीले अन्तर्वार्तामा सार्कोजीसँग प्रेममा परेपछि मात्र मिडियाको हमलालाई आफूले पूर्ण रूपमा बुझ्न सकेको बताएकी छिन् ।
‘मेरो गल्ती यही थियो कि, म प्रेममा पागल भएँ । तर, यसको परिणाम कति व्यापक होला भन्ने बुझ्न सकिनँ,’ उनले भनिन् । उनका अनुसार सार्कोजी उनीप्रति अति आशक्त भइसकेका थिए । त्यसैले चिनजानको केही हप्तामै बिहेको प्रस्ताव राखेका थिए । सार्कोजीकी पूर्व दोस्री पत्नी सिसिलियासँग आफ्नो सम्बन्ध तनावपूर्ण रहेको तर, पहिली पत्नीसँग भने मैत्रीपूर्ण सम्बन्ध रहेको ब्रुनीले स्वीकारिन् ।
‘म सिसिलियासँग भेट्न र खाना खाने अवसर पाएमा रमाउनेछु । तर, मेरो विचारमा यसका लागि उनी र सार्कोजी दुवै तयार छैनन्,’ ब्रुनीले भनिन्, ‘उनीहरू अझै पनि प्रेम-अग्निमा जलेका छन् । उनीहरूबीच अत्यन्त गाढा प्रेम रहेको यसले प्रमाणित गरेको छ ।’
ब्रुनीले आफू गर्भवती भएको हल्ला अस्वीकार गरेकी छिन् र आफ्नो फुलेको पेटलाई बियर खाएर फुलेको बताएकी छिन् । सार्कोजीबाट सन्तान जन्माउनु आफ्नो सपना रहेको उनी बताउँछिन् । ‘सन्तान जन्मेको खण्डमा म संसारकै सबभन्दा सुखी व्यक्ति हुनेछु । नजन्मे पनि त्यो सैतानलाई म फकाउने छैन ।’ ब्रुनीको पूर्वप्रेमीका तर्फबाट एउटा छोरो छ भने राष्ट्रपति सार्कोजीका अघिल्ला दुई श्रीमतीबाट तीन सन्तान छन् । यसैगरी, सार्कोजीसँग बिहे गर्नुभन्दा अघि नै १५ व्यक्तिसँग प्रेम गरेको ब्रुनीले खुलासा गरेकी छिन् । एरिक क्लाप्टन, मिक जागर, डोनाल्ड टम्प आदिसँग उनको प्रेमसम्बन्ध गाँसिएको थियो ।
Posted by Diness Acharya at 07:59:30
Comments

Leave a Reply