Friday, December 28, 2007

मज्जा आएन केटीसितको सेक्सुअल रिलेसन

रसियामा भयो’ विदेशी महिलासित सारीरीक सम्बन्ध
नेपालमा समिलंगी अधिकारका लागि चर्चित नाम बनेका सुनिलबाबु पन्त पुरुषलाई नै बिवाह गर्ने उसैसित सेक्स गर्ने खुल्लम खुल्ला घोषणा गरेक ब्यक्ति हुन । यसै अभियानमा अन्तराष्टिय पुरस्कार समेत पाइसकेका पन्तले पहिलो पटक यस पंक्तिकारसित तीन जना महिलासित यौन सम्पर्क राखेको खुलाशा गरेका छन् । तर उनलाई मज्जा आएन रे केटीसितको सेक्सुअल रिलेसन । हाम्रा मित्र बालमुकुन्द नेपालले उनीसित गरेको भलाकुसारीमा उनले धेरै कुरा खोलेका छन् यस्तै यस्र्तै :
-
महिला र पुरुष बिचको विवाह सामान्य कुरा भयो । तर पुरुष र पुरुष अनि महिला र महिलाबिचको सम्बन्ध समाजले अझै पचाइसकेको छैन । अल्पसंख्यक यी मानिसका सम्बन्ध समाजका अन्यलाई भने रहस्यात्मक र कोतुहलताको विषयनै रहेको छ अहिले सम्म पनि । पुरुष समिलंगी (गे) सुनिलबाबु पन्तको अनुभवबाट केही बुझ्न् प्रयास गरौं न त ।
‘राम्रो विद्यार्थी भएकाले स्कुले जिवनमा शिक्षक साथिभाई सवैले माया गर्थे तर समिलंगी रहेको अनुभवनै भएन’, आफ्नो पुराना दिनमा फर्कर्दै प्रुेन्च कट दारी पालेका यी समिलंगीले भने ुएसएलसी पछि कलेज पिपल्स क्याम्पस पढ्दा पनि मैले यसबारे थाहा नै पाइन ।’ १८ बर्षको उमेरमा कलेज पढ्दा कुनै केटी संग रोमान्स पनि गरेनछन् गोरखा गाइखुरका यी समिलंगीले । ‘केटी साथिहरु त थिए तर रोमान्स भने भएन’ उनि भन्छन् ।
१९९२मा रसियामा कम्प्युटर पढ्न गएपछि ३५ बर्षेहाल सुनिलले गे लेस्बियन समुदाएको बारेमा थोरै जानकारी पाएछन्- ‘केटाहरुलाई छुँदा झसंग हुन्थे’, रसियामा बस्दाको अनुभव बताउँदै पन्तले भने- ‘लेस्बियन र गे को पनि कम्युनिटी हुँदो रहेछ भन्ने जानकारी त्यर्ही पाएँ ।’
कम्युनिटी र अल्पसंख्यको जानकारी पाएपनि आफ्नो बारेमा भने उनले अझै जानकारी पाएनछन् । त्यसो भए रसियन ठिटीहरु त पटाइयो होलानी ‘रसियन त हैन विदेशी केटी साथिहरु थिए मेरा गहिरो सम्बन्ध थियो ।’ रसियामा उनले विदेशी महिलाशंग सारीरीक सम्बन्ध पनि गांसेका रहेछन् । ‘छ बर्ष बस्दा दुई तीन महिला संग सम्बध भयो’ खुलासा गर्छन उनि । ‘पढ्न मलाई खुब मन पथ्र्यो बुद्ध दर्शन विज्ञानका जेनवादका किताब खुब पढ्थे’ रसियामा समिलंगी सम्बन्ध नराख्नुको कारण बताउँछन् उनि ‘पढेरै समय विताइन्थ्यो अनि त्यसतर्फ ध्याननै गएन ।’
त्यसो भए समान िलंगीसंग कहिले सम्पर्क राखेत उनले अध्ययनलाई नै निरन्तरता दिन जापान पुगेको थिए उनि । इन्टरनेटको ब्यापक प्रयोगबाट समिलंगी र त्यो समुदाएको बारेमा निकै जानकारी हासिल गरेको बताउँछन् उनि । ‘समान िलंगी संगको पहिलो शारीरीक सम्बन्धको अनुभव पनि त्यही भएको हो’ पहिलो अनुभव निरासाजनक रहेको बताउँदै उनले भने-’उनिहरु लामो समय सम्म सम्बन्ध राख्नु भन्दा पनि ‘सेक्सुका लागि मात्र नजिकंदा रहेछन्’ । त्यसले पनि मलाई दिक्क बनायो । ।
पहिलो सम्बन्ध सुखद नहुनुको कारण ज्ञानसमिलंगीबारेको कमि हुनसक्ने ठान्छन् उनि । जापान पछि सन् १९९९मा हङकङ पुग्दा उनले समिलंगी सम्बन्धको बारेमा पर्याप्त जानकारी पाएछन् । ‘रसियामा पढेको विषयकम्युटरलाई अझै अप डेट गरौं भनेर हङकङ गएको थिएँ त्यहाँ मैले समिलंगी सम्बन्धका बारेमा राम्ररी बुझें तर जापानमा जस्तै सेक्सकालागि मात्र सम्बन्ध राख्ने कुरा मलाई मन परेन’ पुरानो अनुभव बाँड्दै सुनिलले भने । त्यसपछि भारतमा स्वयंसेवाकालागि पुगेका पन्तले त्यहांबाटनै आफुलाई राम्ररी चिन्ने र हिडने नयाँ बाटो पहिल्याएछन् ।
‘भारतको उडिसामा सुपर साइक्लोन आएको थियो’ साइक्लोनले त्यहाँका मानिसलाई परेको दुःखबाट प्रभावित भएका सुनिलले पुरानो दिन सम्झदैं भने ‘अनि स्वयंसेविको रुपमा त्यहाँ पुगे ।’
स्वयंसेविको रुपमा उडिसामा कार्यरत रहँदा एक अमेरीकी चिकित्सक संगको सम्पर्कले उनलाई समिलंगीका बारेमा थप जानकारी दिएछ । ‘उ पनि बुद्ध दर्शन मन पराउने बुद्ध दर्शनबारेमा धेरै कुरा उसलेनै सिकायो’ काठमाडौंको एक गुम्बामा बुद्ध दर्शनको अध्ययन गरेका अमेरीकी चिकित्सकको बारेमा जानकारी दिदै सुनिलले भने ‘हाम्रो धेरै कुरामा मन मिलेपछि उ संग पनि राम्रो सम्बन्ध भयो ।’ दस महिना उडिसामा बसेपछि नेपाल फर्केका सुनिलले तेस्रो िलंगी र समिलंगीले भोगिरहेको पिडा र दुब्र्यवहारविरुद्ध लड्न सामुहिक प्रयासको खाँचो अनुभव गरेछन् र निलहिरा समाजको स्थापना गरेछन् ।
सन् २००१ मा समाजको स्थापना पछि तेस्रो िलंगी र समिलंगीको हकहितकालागि लड्दै आएका सुनिलाई घर परिवारलाई बुझाउन पनि कठिन भएन । घर परिवारले कसरी स्विकार्नु भयो कुनै विरोध भएन ‘विरोधको अवस्थानै आएन समाजको स्थापना पछि पत्रपत्रिकामा अन्तवार्ता दिन थाले मेरो मुखबाट नभई पत्रिकाबाटै उहाँहरुले थाहा पाउनु भएछ’ परिवारले सहजै स्विकारेको कुरा बताउँदै चार दीदी र एक दाईका कान्छा भाई सुनिल भन्छन् -’तर प्रहरीले समात्ने समाचार पढेपछि आमा चिन्तित भने हुनु भएको थियो ।’ पाँच बर्ष देखी आफ्नो केटा साथिसँगै बसिरहेका सुनिललाई घरबाट विवाह गर्नकालागि भने भनिएको रहेछ । ‘तर मैले गर्दिन भनेँ, ‘परिवारको भनाई नमाने पनि आफुलाई माया गर्न भने नछोडेको बताउँछन्- ‘परिवारले गर्ने मायामा कुनै कमि आएको छैन ।’
Posted by Diness Acharya at 13:13:19 | Permalink | Comments (1) »

Friday, December 21, 2007

सौन्दर्यशास्त्रको नयाँ मानक

बुह्रान, सारी सोल्जर र पाथेर पाचाली
-यज्ञश
२०१८ साल तिरको दाङ । एउटा थारु वस्ती छ । वस्तीमा विभिन्न उमेरका थारु आदिवासीहरु देखिन्छन् । यीनमा आधा शरिरमात्र ढाक्ने लंगौटी लगाएका पुरुषदेखि पालैपालो कपडा खोलेर खोलामा हेलिने स्त्रिसम्म छन् । वस्तीमा मान्छे जति नै काला संगुरका पाठा र विरहरु पनि देखिन्छन् । वस्तीको छेउमा एउटा पक्की घर छ । वस्तीका मान्छेसँग न यीनको रंग मिल्छ न रुप र भाषा । तर यो पक्कि घरको केटो र झुपडीकी एउटी केटीको भने सुटुक्क मन मिल्छ । कसैले थाहै नपाई परालको टौवामुनि गोठमा बाधिएका भैसीका आखा अगाडि यीनको डेटिङ सुरु हुन्छ । एकैपटक थारु नेताकी यी किशोरीको शरिर अस्वभाविक तरिकाले बढ्न थालेपछि बल्ल पधेर्नीहरुले मेसो पाउँछन् । र यो मेसोसँगै पक्कि घरको लामो कपाल पालेको युवाले पनि डाडो काट्छ ।
काठमाडौं माउन्टेन फिल्म फेष्टिवलमा देखाइएको थारु भाषाको फिल्म ‘बुह्रान’को कथा हो यो । पछिल्ला केही बर्षदेखि बर्षेनी राजधानीमा हुँदै आएको महोत्वसवमा देखाइएका केही राम्रा फिल्ममा यो पनि सामेल थियो । दाङका युवा अजित लामिछानेले बनाएको यो फिल्म धेरै अर्थमा समाजिक देखियो । चल्तीका मुलधारका फिल्मको तुलनामा कुनै अर्कै प्रदेशको जस्तो लाग्ने यो फिल्ममा २०१८ सालतिरको एउटा सानो थारु वस्तीको पलायनको कथा भनिएको छ । तीस बर्षकी भाउजुसँग विवाह गर्ने तेह्र बर्षको फुच्चे देवरमात्र होइन फिल्ममा जमिन्दारका छोरी ज्वाई बोक्न पहाडमा डोली लिएर जाने वयस्क थारु पनि छन् । छोरालाई कमैया र छोरीलाई कमलरी पठाएर पैसा कमाउने सपना देख्ने बाबु पनि फिल्ममा छन् । र, छ जमिन्दारको ऋण र छोरीको शरिर एउटै रपुतारमा बढ्न थालेपछि बसाई सर्ने मुखियाको विजोगकको कथा ।
यस्तै एउटा गाउँको विजोगको कथा साठी बर्षअघि भारतीय पर्दामा पनि सल्बलाएको थियो । एशियाका सबैभन्दा चर्चित निर्देशक सत्यजित रेले बनाएको पहिलो फिल्म ‘पाथेर पाचाली’मा । नियमितरुपमा चर्चित फिल्म देखाउदै आएको मार्टिन चौतारीले यो साता यो फिल्म देखायो । स्वतन्त्र भारतमा जमिन्दारीको विघटनपछि प्रतिष्ठाको मानक जमिनको सट्टा नोट हुनथाल्यो । र थुप्रै ‘िहंग बाँधेका टालाहरु’ मजदुरीका लागि  बनारसका बजारमा ओर्लिन थाले । एउटा यस्तै अधबैसेंको गरिबिको गाथा यो फिल्ममा थियो । थारु भाषाको ‘बुह्रान’मा जस्तै बंगाली भाषाको ‘पाथेर पाचाली’ मा पनि एउटा परिवारको पलायनको कथा थियो । विश्वभर तहल्का मच्चाएको यो फिल्मको जस्तो कथा भन्ने निर्देशकको आपुनो शैली ‘बुह्रान’मा पाइदैन । तर उधारो लिएकै शैलीमा भएपनि यो फिल्म देशको एउटा कथा भन्छ । आपुनै पिता पुर्खाले ज्यान जोखिममा हालेर खेतीयोग्य बनाएको जमिनमा सय बर्ष नपुग्दै अर्कैलाई जमिन्दार थापना गर्नुपरेको थारु समाजको पीडाको गहिराईसम्म यो फिल्म पुग्दैन । राजनीतिक दृष्टिलाई पाखामा थन्काएको भएपनि फिल्मले कम्तिमा इतिहासको एउटा कालखण्डको एउटा जातिमाथिको शोषणको कथा भने अवश्य भन्छ ।
यी दुई फिल्मको विपरित अर्को एउटा फिल्म पनि यसपाली माउन्टेन फिल्म फेष्टिवलमा देखाइयो । वर्तमान समयका केही प्रतिनिधी महिलाहरुले युद्धमा खेपेको पीडा र त्यसले जन्माएको साहसको कथा समेटीएको डकुमेन्ट्री ‘सारी सोल्जर’ महोत्सवको सबैभन्दा चर्चित फिल्म थियो । पचास बर्ष अगाडिको समाजको कथा ‘बुह्रान’को तुलनामा यो फिल्मको संवेदना बढी तिखो थियो । दश बर्षे जनयुद्धको उत्कर्षमा भिन्न-भिन्न स्थानमा बसेर युद्धको अनुभूति गरेका छ महिला पात्रको मनोदशा फिल्ममा कैद गरिएको छ । निकै लामो सयम लगाएर एक अमेरिकी महिलाले बनाएको यो फिल्मले जनयुद्धको राजनीतिक पाटोलाई सुन्दर ढंगले उजागर गर्दछ ।
पामुकको कवितामा वर्णन गरिएकी ‘सलक्क कपाल कोरेकी सहिद जन्माउने आइमाई’ जस्तै लाग्नेगरि कपाल कोरिरहेकी देवि सुनुवार असनको एउटा साँघुरो गल्लीको भुयालमा प्रकट हुन्छिन् । र सुरु हुन्छ उनको अनन्त दुखले भरिएको वेपत्ता छोरी खोज्ने पीडा यात्रा । उनका साथमा संवेदना बाँधिएका श्रीमान् र अधिवक्ता मन्दिरा शर्मा देखिन्छन् । सेनाले अपहरण गरेर हत्या गरेकी किशोरी मैना सुनावारकी आमा हुन् देवी । यीनका विषयमा कवि श्यामलले कवितासमेत लेखिसकेका छन् । छोरी हराएको खबरदेखि कंकाल पत्ता लाग्दासम्मको अध्यारा दिनको वर्णन फिल्ममा छ । टन्टलापुर घाममा पनि कसैका आखामा अध्यारोमात्र देख्छन् भन्ने उदाहरण देविका आखाले दिन्छन् । 
यीनका साथमा काठमाडौंकी अर्की एक युवति पनि फिल्ममा छन्- रजनी अधिकारी । सेनामा रहेका दाजुको युद्धमा मृत्यु भएपछि उनी शाही सेनाको पहिलो लटको महिला अफिसरको भर्तीमा लामबद्ध छिन् । ‘देशका लागि केही गर्ने’ जोशमा उनी बन्दुक समाउदै छिन् । र खरिपाटीमा ठड्याइएका डमी माओवादीलाई गोलीले उडाएर दाजुको बदला लिइरहेकी छिन् । यस्तै बन्दुक बोकेकी अर्की महिलाको कथा भने बेग्लै छ । कमला रोक्काबाट क. क्रान्तिमा रुपान्तिरित भएकी यी रोल्पाकी महिला अहिले देशकी सांसद् भइसकेकी छन् । तर ‘क्रान्तिकाल’ की कमलाको कथा बेग्लै छ । दुस्मनको घेरो तोड्दै अघि बढेका उनका सनसनीपूर्ण कथाले फिल्मलाई मोफसलतिर लैजान्छ ।
मोफसलको एउटा कुनो दैलेखको दुल्लुमा छिन् - कृष्णा शाह । राजाको सरकारको समर्थनमा गठन गरिएको पहिलो नागरिक समाज वा प्रतिकार समितिकी यी संयोजक राजाको सत्ता ढलिसक्दा पनि आशा मार्दिनन् । बरु भन्छिन्- ‘राजा विनाको सरकार र टाउको विनाको हात्तिजस्तो हुन्छु । जुलुस गर्न निस्किएका पार्टीका कार्यकर्तालाई उनी केरकार गर्छिन्- ‘यत्रो समय कहाँ हराएका थियौ अहिले एक्कासी जुलुस लगाउन सरम लाग्दैन, यता काठमाडौंमा दैनिक जुलुस गर्ने राम l’ (लेखक नया पत्रिकामा कार्यरत छन, प्रस्तुत लेख सोही पत्रिकामा प्रकाशित भैसकेको हो )
Posted by Diness Acharya at 13:49:00 | Permalink | Comments (2)

अक्षय कुमार बनेका राजिव भाटिया

अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । उनको यो बानीको सबैभन्दा बढी मार खेपॆको छन् सुनिल सेटिट्टले
कुनै बेला यीनको नाम राजीव भाटिया थियो । भारतीय सैनिकका रिटायर्ड अफिसरका छोरा राजीव बैंककको एक रेष्टुरेण्टमा वेटरको काम गर्थे । तेक्वान्दोका खेलाडी छरितो जिउ भएका यीनले थुप्रै ग्राहकको ध्यान खिच्थे । केही बर्षको थाइल्याण्ड बसाइपछि यी मुम्बई फर्किए र हिन्दी फिल्ममा भाग्य परिक्षण सुरु गरे । कुनैबेलाका ‘डन’ निर्देशक प्रकाश मेहराले नयाँ कलाकारका साथ फिल्म बनाउने योजना बनाइरहेको बेला यी भाटीया तिनको नजरमा पुगे । केही समयपछि मेहराले नयाँ फिल्मको घोषणा गरे । ‘दिदार’ नामको यो फिल्मका नयाँ नायक थिए तिनै भाटीया र यीनलाई नयाँ नाम दिइयो- अक्षय कुमार ।
१९८९ मा आएको यीनको यो फिल्मले खासै सफलता पाएन । त्यसको दुई तिन बर्षसम्म यीनले आपुनो कसरती शरिर र नयाँ किकको प्रदर्शन जारी राखे । तर सफलता हात लागेन । यस्तैमा १९९० मा यीनले अब्बास मस्तानको नयाँ फिल्म ‘खेलाडी’ पाए । यो फिल्मको सफलताले उनलाई स्टारको हैसियतमात्र दिएन एउटा ब्रान्ड पनि दियो- खॆलाडी । त्यसको दश बर्षसम्म यीनले खेलाडी नाम गरेका आधा दर्जन फिल्ममा अभियन गरे- सबसे बडा खिलाडी खिलाडीयोंका खेलाडी मै खिलाडी तु अनाडी इन्टरनेशनल खिलाडी आदि । खिलाडी मार्का फिल्मले उनलाई सफलता पनि दिलाए ।


अक्षययले पहिलो सफलता चाखेको एक बर्षपछि बलिउडमा एउटा अर्को नयाँ हिरोका साथमा एक्शन फिल्म आयो । ‘वलवान’ नामक यो फिल्मले एउटा हेर्दै वलवान साइजको हिरो शुनिल सेट्टी बलिउडलाई दियो । यसै बर्षको अर्को फिल्म ‘पुल और काँटे’ बाट अर्को पनि एक्शन स्टार अजय देवगन बलिउड छिरेका थिए । तर यहाँ तिनको सफलता र असफलताको कुरा गरिने छैन । एक्शन स्टारका रुपमा दश बर्षसम्म सँगै फिल्म खेलेका अक्षय कुमार र सुनिल सेट्टीको सम्बन्धको कथा हो यो ।
यश चोपडाका रोमान्टीक फिल्मको जगजगीको समयमा भ्यान डम र आर्नोल्ड स्वार्जनेगरका भारतीय संस्करण अक्षय र सुनिलले बलिउडमा एक्शनलाई हिट बनाउने काम गरे । किक ब_िक्सङले भरिएका थुप्रै फिल्ममा यीनले आपुनो कमाल देखाए । सुरुवाती समयदेखि नै यी दुईको जोडी पनि बन्यो । हम है वेमिसाल वक्त हमारा है मोहरा सपुत हेराफेरि आवारा पागल दिवाना दिवाने हुए पागल धडकन लगायत दर्जनभन्दा बढी फिल्ममा सँगै अभिनय गरे । सँगै अभिनय गर्न थालेपछि यीनको आपसमा प्रतिष्पर्धामा पनि सुरु भयो । सुरुवाती बर्षमा एक्शनमा मात्रै केन्द्रित यीनको होडवाजी पछि कमेडी र लभस्टोरीमा पनि सुरु भयो ।
अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । र उनको यो बानीको सबैभन्दा बढी मार यदि कसैले खेपॆको छ भने त्यो सुनिल सेटिट्टले भोगेका छन् । अक्षयको यो क्षमताको सिकार सलमान खानजस्तो सुपरस्टार समेत भइसकेका छन् । सोझो मिजासका दिलदार मुम्बैया सिनल पछिल्लो समयमा अक्षयका अगाडि निकै कमजोर भूमिकामा पनि देखिन थाले । तर यीमध्ये धेरैजसो फिल्ममा अक्षयको समानान्तर भूमिका भएकोमा अक्षयले उनको भूमिका काटिदिन्थे । सुरुवाती समयका ‘हम है वेमिसाल’, ‘सपुत’ र ‘वक्त हमारा है’ मा यी दुवैको भूमिका उस्तै थियो । हरेक फिल्ममा यी दुईका बीच कम्तिमा एउटा फाइट हुन्थ्यो र त्यो नै सबैभन्दा चर्चित पनि हुन्थ्यो । १९९५ को राजिव रायको फिल्म ‘मोहरा’ ले भने यीनको सम्बन्धमा एउटा मोड ल्यायो । भ्रष्ट राज्ययन्त्रका विरुद्ध विद्रोह गरेको एउटा युवाको भूमिकामा सुनिल शेट्टी फिल्मको नायक थिए । र चतुर प्रहरी इन्स्पेक्टरको सहायक भूमिकामा अक्षय कुमार पनि फिल्ममा थिए । फिल्ममा अक्षयकी त्यतिबेलाकी प्रेमिका रविना टन्डन र अर्का ठूला अभिनेता नसिरुद्धिन शाह खलनायकको भूमिकामा थिए । फिल्म रिलिज भयो र ठूलो हिट सावित भयो । यो फिल्मको सफलताको लगभग सबै श्रेय सुनिलले प्रँप्त गरे । निकै महत्वाकांक्षी अक्षयलाई यसले ठूलै झट्का दियो ।
‘मोहरा’ पछि केही बर्ष यीनको सम्बन्ध सामान्य रहेन । यसको छ बर्षपछि फेरि यी दुवै एउटै फिल्ममा देखिए । धर्मेश दर्शनले बनाएको ‘धडकन’ मा अक्षय नायक थिए र सुनिल शेट्टी खलनायकको थिए । प्रेमकथामा आधारित यो फिल्म सफल पनि भयो । तर अर्वाड पाउने बेलामा अक्षय रित्तै भए भने सुनिलले खलनायकको फिल्मफेयर अवार्ड प्राप्त गरे । यो फिल्मले यी दुवैको एक्शन हिरोको छविलाई धुमिल बनाउने काम गरे र पि्रयदर्शन टाइपका कमेडी निर्देशकका पि्रय नायक बनाइदिए ।
करिब धडकनकै समयमा पि्रयर्दशनले यी दुवैलाई ‘हेराफेरि’ मा लिए । फिल्म पुरै कमेडी थियो र यी दुईका साथमा परेश रावलको पनि प्रमूख भूमिका थियो । फिल्मले राम्रै सफलता पायो । यो फिल्मले खास फरक के पर्यो भने यसमा सुनिलका अगाडी अक्षय प्रभावकारी देखिए । यसपछिका यी दुईले सँगै अभिनय गरेका सबै फिल्म कमेडी छन् र सबैमा अक्षय मूख्य भूमिकामा देखिएका छन् ।
अक्षय कुमार बलिउडका नामुद प्लेव्वाइ हुन् । विपासा वसूदेखि रविना टंडन र सिल्पा सेट्टीसम्म कुनैबेला उनका प्रेमिका थिए । तर यो मामिलामा सुनिल शेट्टी भने पूर्णत पत्नीभक्त देखिए । उमेरका हिसाबले यी दुवै एउटै उमेरका हुन् तर अक्षय नयाँ-नयाँ नायीकाको जोडी भइरहेका छन् भने सुनिल चाहिँ नायक-नायीकाको दाजुको भूमिकामा बढी देखिन्छन् ।
सुनिल सेट्टी फिल्ममा मात्र सिमित छैनन् । मुम्बैया सुनिलले देशभर थुप्रै रेष्टुरेण्ट खोलेका छन् । उनको यो व्यापार निकै सफल छ । बलिउडमा सुनिललाई धरैले ‘ठुल्दाई’ भन्दछन् । ‘अन्ना’ को उपनाम पाएका सुनिलका भाइहरुको सुचीमा शाहरुख खानदेखि संजय दत्तसम्म सामेल छन् । कि्रकेटका उग्रा पुयान सुनिलका गतिविधि धेरै क्षँेत्रमा फैलिएका छन् । यीनको विपरित अक्षयको सारा ध्यान फिल्ममा छ । चालीस पार गरिसक्दा पनि उनी अझै एक्शनमा पछि परेका छैनन् । निखिल आडवाणीको आगामी फिल्म ‘मेड इन चाइना’ मा उनी कुनैबेलाको आपुनो वास्तविक जीवनको काम गदैै्र देखिनेछन् । झुक्कीएर कुक ठानीने एउटा कराते खेलाडीको भूमिका उनले यसमा गर्दैछन् । पछिल्ला बर्षमा अक्षय सबैभन्दा सफल कलाकारको रुपमा प्रकट भइरहेका छन् भने सुनिल सेट्टी सहायक भूमिकामा सिमित छन् । जसका कारण यीनको पुरानो बिगि्रएको सम्बन्ध पनि अहिले विस्तारै सहज बन्दै गएको छ । जब कुनै प्रतिष्पर्धा छैन भने दुस्मनी हुने पनि कुरा भएन ।

Posted by Diness Acharya at 13:08:14 | Permalink | Comments (1) »

Monday, December 17, 2007

मेरो एक दिनको रामकहानी

लोकल कुखुराको मासु र घैयाको भात
शनिवार बिहानै सिन्धुपाल्चोकको चौतारा जाने निम्तो आयो । पिताजीो मित्र एवं सिन्धुपाल्चोकका काग्रेस नेता राजेन्द्र ताल्चाभडेलले फोन गरेर चौतारा जान बोलाए तर जान सकिन । कृतज्ञतापूर्वक उनको आग्रह नकार्ने धृष्टता गरेपछि आफ्नै गृह जिल्लाको एक गाउ जाने मेसोतर्फ लागियो । काग्रेस नेता डा प्रकाशशरण महतले अघिल्लो दिन नै नुवाकोट जानुपर्छ है भनेर फोन गरेका थिए । शनिवारको रमाइलो ककनीको घमाइलो वातावरणमा मनाइन्छ भनेर ुभैहाल्छु न जवाफ थियो मेरो । शुरुमा सात दलको बैठक र संसदको रिपोर्टिङ गर्नुछ भनेर इन्कार गर्दा डा महतले म पनि त जानुपर्छ नि चाडो फर्कने हो भन्ने जवाफ दिए । त्यसपछि जाने भइयो ।
त्यसदिन ककनीमा ३२ वटा पिकनिक टोलि पुगेछन । डाडैभरी पिकनिक खाने र नाचगान गर्नेको धुइरो । कान्तिपुर पब्लिकेशनदेखि चौघडा गाउको स्कुलसम्म । पिकनिक जाने थुप्रै निम्तो पाए पनि ककनीको डाडोबाट १० किलोमिटर ओर्लेर तामाङ गाउमा लोकल कुखुराको मासु र घैयाको भात खाने योजना बन्यो ।

मोटरसाइकलको कन्डिसन ठिक नभएकोले वाइपासमा तीन राउन्ड चिया खाएर दुइृ घन्टा गफिएपछि सवा नौ तिर उकालो लागियो । १४ ओटा मोटरसाइकल ३ वटा गाडिमा हामी ककनी पुग्यौ साथीहरु ककनीमा मुस्ताङ्गे कफि पिएर ओर्लने कुरा गर्दैथे । तर खालि पेट गइयो । चियाको भरमा लामो समय कुदेपछि नुवाकोटको थानापति चैजु घर भएका जुडो खेलमा नेपाल च्याम्पियन राजेन्द्र तामाङको घरमा कुखुराको मासु र भात खाइयो । स्थानिय नेताहरुको भाषण सुनियो । फर्केर आएपछि ककनीमा रमाइलो गरियो । ककनीमै काभ्रे पोष्टका सम्पादक प्रकाशक मित्र बिष्णु चौलागाइको फोन आयो- आज मेरो घरमा साथीहरु बोलाएको छु जसरी पनि आउनुपर्यो । नागार्जुन कट्न नपाउदै फेरी फोन आयो । त्यसपछी म सरासर चाबेल गए । काभ्रे पोष्टको पं्रकाशन तयारी हुदै थियो । अनलाइनमा केहीतिस च्याट गरियो रेड लेबलसित टाइम पास भयो ।
घर फर्कन लागेको थिए एभिन्युजका प्रेम बानिया र अर्का मित्र आए । नेपाली आज तक च्यानलझै ठान्ने उनीहरुको पारा पनि गज्जबकै । लामो समयको गफ र खुवाइपछि उनीहरु हिडे म आफ्नै सुरमा । त्यतिखेर मध्यरातको साढे १२ बजेको थियो । उनीहरु बानेश्वर जाने भनेर हिडेपछि अर्को लफडामा परेछन । एउटा मोटरसाइकलमा ३ जना आएको देखेर पुलिसले रोक्दा उसैले झापड भेटेछ । ‘उत्साही पत्रकारहरुको महान कार्य’ । त्यसपछि के चाहियो र - पुलिस भ्यान आयो, उनीहरुलाई कोच्यो अनि मोटरसाइकलको साचो पनि लिएर गयो ।
त्यसपछिका लफडा चाही अहिले नलेखौं । तपाइहरुलाई सुटुक्क मेल गर्छु नि ल बरु अहिलेलाई त्यस दिनको केही फोटोहरु राखेको छु हेर्नुस ।

 

Posted by Diness Acharya at 07:47:53 | Permalink | Comments (1) »

Tuesday, December 11, 2007

अमेरिकी जीवनमा इन्टरनेट

सबैभन्दा निकट साथि
तपाईको लागि इन्टरनेटको महत्व कत्तिको छ के तपाईको लागि इन्टरनेट सबैभन्दा निकट साथि अथवा साथि नभएको बेलामा बैकल्पीक साथि बन्न सक्छ तपाईको जीवनको बारेमा त त्यत्ति थाहा भएन तर अमेरिकीहरुको जीवनका इन्टरनेटको महहत्व एक असल मित्रको रहेको एक सर्वेक्षणले देखाएको छ । चार जना अमेरिकीमध्ये एक जनाको असल मित्र हो इन्टरनेट । निकट साथि नभएको अवस्थामा आफुलाई एक्लो भएको महसुस हुनवाट जोगिन होस् या नयां साथिको खोजिका लागि हो अमेरीकीहरुको पि्रय माध्ययम बनेको छ इन्टरनेट ।
सर्वेक्षणको नतिजाले साथिको खोजिका लागी सबैभन्दा उत्तम माध्ययम बनेको देखाएको छ । बुधवार सार्वजनिक भएको सर्वेक्षण इन्टरनेटको मानिसको दैनिक जिवनमा खेलेको भुमिकाको विषयमा केन्द्रित थियो । सर्वेक्षण जोग्वाइ इन्टरनेशनल र कम्युनिकेशन कन्सल्टेन्सले गरेको थियो । सर्वेक्षणमा २४ प्रतिशत अमेरीकीले इन्टरनेटले केही समय आफ्नो निकट साथिलाई समेत विस्थापन गर्ने गरेको अनुभव बाडेका छन् । यस्तो धारणा ब्यक्त गर्नेहरुमध्ये धेरै एक्ला थिए । ३१ प्रतिशतले साथिको अभावमा मात्र इन्टरनेट विकल्प रहेको बताए । यस्ता विचार ब्यक्त गर्नेहरुमा महिला र पुरुषको संख्या बराबर नै थियो । सर्वेक्षणकर्ताहरुका अनुसार यो सर्वेक्षणमा नौ हजार सात सय ४३ जनासंग अनलाइन सर्वेक्षण गरिएको थियो ।
युवाहरुका लागि इन्टरनेट मिल्ने नयां साथिको नै रहेछ । उनीहरुले इन्टरनेटलाई आफ्नो पि्रय नयाँ मित्रको रुपमा ब्याख्या गरेका छन् । चार जना अमेरिकीमध्ये एक जनाको माइस्पेस फेस बुक जस्ता सोसियल नेटवर्किग साइटमा ब्यक्तिगत विवरण रहेको सर्वेक्षणमा उल्लेख छ । यस्ता ब्यक्तिहरु १८ देखी २४ वर्ष उमेर समुहभित्रका छन् । कम्प्यूटर संसारको नेटवर्किगं भित्र छिरेकाहरुको राजनीतिक विचार पनि बुझिहालौ न हैन । सर्वेक्षणको नतिजा अनुसार यसरी साथिको रुपमा इन्टरनेटलाई ब्यख्या गर्नेहरुमा डेमोक्र्याटहरुको बाहुल्यता रहेको छ । उनीहरुको संख्या छ ३२ प्रतिशत । रिब्लीकन पनि हुँदै नभएका भने हैननै । उनीहरुको संख्या चै रहेछ २२ प्रतिशत ।
Posted by Diness Acharya at 13:42:04 | Permalink | No Comments »

कर्ममा बिश्वास गर्ने एउटा ब्यक्तिको कथा

यो कुनै सपना होइन
३० वर्षअगाडिसम्म प्रतिमहिना ५० अमेरिकी डलर तलब खाने व्यक्ति अहिले विश्वकै पाचौं धनी व्यक्ति हुन् भन्दा जोकसैलाई पत्यार नलाग्न सक्छ । त्यतिवेला उनी एउटा पुरानो सेकेन्ड ह्यान्ड अस्टे्रलियाली कार चलाउँथे र इन्डोनेसियाको मझौलास्तरको एक कारखानामा म्यानेजरको तहमा काम गर्थे । तर अब उनीसँग झन्डै २० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ र विश्वका विभिन्न मुलुकमा करोडौं डलर लगानी गरिएका स्टिल कारखाना छन् । यी ५८ वर्षीय मेधावी पुरुष हुन्- लक्ष्मी मित्तल ।
राजस्थानको एउटा मध्यमवर्गीय परिवेशबाट आफ्नो जीवन सुरु गरेका मित्तल त्यतिवेला पानीको चरम असुविधा भएको एउटा साधारण घरमा बस्थे । उनका पिताको धानसम्बन्धी कारोबार थियो । तर उनी पिताले सुरु गरेको कारोबारलाई पछ्याउन चाहन्नथे । उनी आफ्नै बुतामा केही नयाँ र चुनौतीपूर्ण व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्थे । उनका पिताले पनि एकपटक स्टिल कारखाना स्थापना गर्ने पहल गरेका थिए । तर भारतीय नोकरसाहीको ढिलासुस्ती र अवरोधका कारण उनको योजना त्यसै ध्वस्त भएको थियो । मित्तललाई पिताको यो नयाँ व्यवसायको सोच खुब मन परेको थियो । त्यसैले उनी स्टिल तथा रडको मूल्य बुझ्न पटकपटक बजार घुमे ।

 यस व्यवसायमा गजब नाफा छ भन्ने उनलाई लाग्यो । उनी सन् १९७५ तिर भारतबाट मेसिन आयात गरी इन्डोनेसियामा कारखाना स्थापना गर्ने टुंगोमा पुगे । त्यतिवेलाको इन्डोनेसियाली स्टिल बजार जापानी कम्पनीहरुको कब्जामा थियो । परम्परागत उत्पादन शैलीलाई बदल्दै नयाँ र वैज्ञानिक ढंगले स्टिल उत्पादन गर्दा ५० प्रतिशतभन्दा बढी नाफा हुन्छ भन्ने उनलाई लाग्यो । उनले उद्योग मन्त्रालयबाट आवश्यक अनुमति लिए । उनलाई बिजुली आपूर्ति प्राप्त गर्न पनि कठिनाइ भएन । आफ्ना पितालाई त्यहीँबाट फोन गरेर भने- ‘म अब यतै कारखाना बनाउँछु ।’
पत्नी उषा छोरा आदित्य तथा छोरी बनिसाका साथ उनी इन्डोनेसिया लागे जहाँ उनी आफ्नो उत्पादन संयन्त्र सफल बनाउन चाहन्थे । सुरुको वर्ष मित्तलले ३० हजार टन स्टिल उत्पादन गरे । झन्डै १३ वर्षपछि उनले यहीँबाट वार्षिक तीन लाख ३० हजार टन स्टिल उत्पादन गर्न पुगे । उनी आफ्नो कारखाना विस्तार गर्न चाहन्थे । तर उनलाई थाहा थियो विस्तार गर्न लामो समय लाग्छ । त्यसैले उनी अरुले स्थापित गरेका कलकारखाना भटाभट किन्ने मनसायमा पुगे ।
सन् १९८९ मा उनले टि्रनिडाड र टोबागोको ुआयरन एन्ड स्टिल कम्पनी खरिद गरे । त्यहाँ उनले वार्षिक एक अर्ब २० करोड रुपैयाँ लिने ६० जर्मन म्यानेजरलाई बिदा दिई ६० भारतीय म्यानेजर राखे जो १२ करोड रुपैयाँमा उत्कृष्ट काम गर्थे । सन् १९९२ मा उनले मे_िक्सकोमा अर्को कम्पनी किने । पूर्वी युरोपका पुराना र सरकारी अक्षमताले टाट पल्टिएका विभिन्न कम्पनी पनि यसै समयतिर खरिद गरे । लागत कम गर्दै जानु र उत्पादनको गुणस्तर बढाउँदै जानु उनको आदर्श थियो । स्टिल कारखाना किन्ने उनको सिलसिला रोकिएन । अमेरिकामा त उनी स्टिलका सबैभन्दा ठूला उत्पादक हुन पुगे ।
बिस्तारै उनी पश्चिम युरोपभित्र पनि प्रवेश गरे । काम गराइको उनको तरिका आँट र सुझबुझ देखेर पश्चिम युरोपका कम्पनी मालिकहरु जिब्रो काढ्न थाले । गत वर्ष आफ्नो निकटतम प्रतिद्वन्द्वी आस्रलर खरिद गर्ने ऐतिहासिक कानुनी लडाइँमा विजयी भएपछि उनी अब विश्वकै सबभन्दा ठूला निर्माता भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन गुणा बढी स्टिल उत्पादन गर्छन् । विश्वभरिका उनका कारखानामा झन्डै तीन लाख २० हजार व्यक्ति काम गर्छन् । मुलुकबाहिरै आफ्नो भाग्य भेट्ने उनी सम्भवतः पहिलो भारतीय हुन् ।
सन् १९९५ मा उनले लन्डनस्थित केनसिङटन प्यालेसनजिक एक बंगला पाँच करोड ७० लाख अमेरिकी डलरमा किने । यो भव्य महलमा एउटा बलरुम १२ शयनकक्ष टर्किस बाथ तालस्तम्भ थिएटर तथा रत्नजडित स्विमिङ पुल छन् । हरेक बिहान आफ्नो सानदार गल्फस्ट्रिम नौकामा चढ्नुअगाडि मित्तल स्विमिङ पुलमा मजाले पौडन्छन् । उनी ब्रेकफास्ट प्रायः घरमै लिन्छन् । शाकाहारी भोजनका हिमायती मित्तल आवश्यक शारीरिक व्यायम पनि गर्न छुटाउन्नन् । दिनदिनैजसो सुट फेर्ने मित्तल कहिलेकाहीँ चार÷पाँचवटा देशमा मिटिङ गर्छन् र आवश्यक निर्देशन दिन्छन् । भनिन्छ मित्तलको यो निवास विश्वकै सबैभन्दा महँगो निजी आवास हो । आफ्ना छोराछोरीसँग पनि मित्तल खुब सन्तुष्ट छन् । आफ्ना छोरा आदित्यबारे उनी भन्छन्- ‘उसलाई मेरो पदचिह्नमा हिँड्न कुनै हिच्किचाहट छैन । तर म नै उसको पदचिह्न पछ्याउन चाहन्छु । किनकि म अतीत हुँ भने ऊ भविष्य हो ।’
आफ्नी २६ वर्षीया छोरी बानिसाप्रति पनि उनी उत्तिकै गर्व गर्छन् । वानिसा उनका कैयौं कम्पनीको बोर्डमा छिन् । यिनै छोरीको विवाहमा तीन वर्षअगाडि उनले प्रुान्समा तीन सय ४० लाख डलर खर्च गरेका थिए । वानिसाको विवाह दिल्लीमा जन्मेका बैंकर अमित भाटियासँग भएको थियो । पाँच दिन लामो विवाहमा विश्वका गन्यमान्य अतिथि मात्र एक हजारको संख्यामा उपस्थित थिए । स्वयंवरको पार्टी भसे्रइलसको दरबारमा बाक्स विकाम्टे प्रुान्सको सबभन्दा सुन्दर महल मा विवाह समारोह वानिसा र अमितको प्रेमकथामा आधारित एक घन्टा लामो नाटक कलकत्ताका सेफद्वारा तयार परिकार तथा बलिउडका हस्तीहरुको नाचगान कार्यक्रमले सजाइएको सो विवाह पृथ्वीकै महँगामध्ये एक मानिन्छ ।
अधिकांश समय आफ्नो निजी जेटमा ‘क्याल्कुलेसन प्लानिङ र डिरेक्सन’ को मुडमा भेटिने मित्तल नातिनी सनाया भनेपछि मरिहत्ते गर्छन् । सप्ताहान्त उनी सधैं परिवारका साथ बिताउँछन् । हरेक सप्ताह उनी परिवारका सबै सदस्यका लागि केही न केही उपहार बोकेर आउँछन् । कहिलेकाहीँ उनी व्यापारिक झमेलामा अल्झिएका वेला छोरा बुहारी र पत्नीसँग भिडियो वार्ता गर्छन् ।
परिवारकी सबैभन्दा महŒवपूर्ण सदस्य पत्नी उषा भएको उनी स्विकार्छन् । जब उनी यायावरजस्तै विश्वभरिका कम्पनी खरिद गर्दै हिँडिरहेका हुन्थे उषा इन्डोनेसियामा कम्पनी चलाइरहेकी हुन्थिन् । ‘उषा हाम्रो व्यवसायबारे राम्रो जानकारी राख्छिन् म उनलाई धेरै सम्मान गर्छु ।’ उषाका अनुसार मित्तल निकै रोमान्टिक छन् । मित्तल अझै पनि प्रेमपूर्ण हस्तलिखित पत्र लेख्छन् । कहिले एक लाइनका कहिले दुई÷चार लाइनका ।
पेपर क्लिपदेखि सस्पेन्सन बि्रज केवलसम्म जहाज निर्माणदेखि कारका बडीसम्म तेल तथा ग्यास पाइपदेखि टावर निर्माणसम्म उनको स्टिल जहाँतहीँ हाबी भएको छ । अमेरिकी बजारको ५० प्रतिशत स्टिल मित्तलका कम्पनीले निर्माण गर्छन् । अहिले मित्तलका लागि गणनायोग्य दुई प्रतिस्पर्धी कम्पनी जापानको निप्पन स्टिल र कोरियाको पोस्को नै हुन् । पोस्को पहिलेदेखि नै रक्षात्मक शैलीमा अघि बढिरहेको छ । तर निप्पोन भने आफ्नो गुणस्तर र ब्रान्डका कारण अहिले पनि निरन्तर अगाडि बढिरहेको छ ।
आम मिडियासँग सधैं टाढा रहन रुचाउने मित्तल प्रेसका लागि कमै मात्र समय निकाल्छन् । उनी पारिवारिक विषय प्रेसमा लैजान चाहन्नन् । अहिले युरोपेली मिडिया उनी ‘बर्मिङ्घम सिटी’ फुटबल क्लब खरिद गर्दै छन् भन्ने हल्लाले भरिएको छ । तर उनको त्यस्तो महŒवाकांक्षा छैन । उनी केही नयाँ त पक्कै गर्दै छन् तर त्यो के हुनेछ भन्ने सम्भवतः केही दिनभित्रै उनका छोरा आदित्यले सार्वजनिक गर्नेछन् ।
Posted by Diness Acharya at 13:32:41 | Permalink | No Comments »

Friday, December 7, 2007

त्रिशुलीको पानीले मोटरसाइकल चलाउँदै

      पैसा तिरेर तेल हाल्न पनि भनसुन गराउनुपर्ने बिडम्बना
यसैसाता एउटा मिटिङमा सहभागि हुन नुवाकोट जाँदा फर्कन आपत पर्यो । फर्केर काठमाडौ आइनपुग्दै साथीले बेस्सरी हसायो- ‘अब त त्रिशुलीको पानीले पनि मोटरसाइकल चल्ने भएछ ।’ प्रसङ्ग थियो त्रिशुलीमा हालेको पेट्रोलको । बल्ल बल्ल पावर लाएर हालेको ५ लिटर नाम मात्रको पेट्रोलमा वास्तबिक पेट्रोलको मात्राभन्दा मट्टीतेलको मात्रा धेरै थियो । त्यस्तै मट्टीतेलको मात्रा मात्रा भन्दा पानीको मात्र बढी । काठमाडौंमा ३ घन्टा लाइन बसेर हालेको पेट्रोल तादीको पुल नकट्दै सकिएपछि नुवाकोट पुगेलगत्तै इन्धनकै खोजी गर्नु पहिलो बाध्यता बन्यो । नत्र फर्कन नपाउने समस्या छदैथियो । तेल पाउने छाटकाट नदेखिएपछि उद्योग बाणिज्य संघका अध्यक्षको चाकडी गरियो । उनले पनि सिडिओको पावर लगाएर आफुले तेल पाएको गुनासो गरे । तर आफ्नै जिल्लाको सिडिओ मैले चिनेको छैन ।  तर पैसा तिरेर तेल हाल्न पनि भनसुन गराउनुपर्ने यो बिडम्बना म जस्तो स्वाभिमानिका लागि सैह्य थिएन ।

बेलुकी काग्रेस एकिकरणको समाचार भ्याउनु थियो समाचार कुरेर काठमाडौंमा बसिरहेका छन सम्पादक । बल्ल बल्ल रोइकराई गरेर तेल पाइयो । पेट्रोल पम्पका मालिकले ठुलै उपकार गरेझैं गरेर रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल लुकाएर तेल हालिदिए । तेल भर्दा पम्पबाट भरिएन । घरभित्र ग्यालिनमा भरेर राखिएको तेल किने मैले । बल्ल बल्ल पाएको तेलको गुणस्तर र सही परिमाणको प्रश्न गर्ने समय र शक्ति नै थिएन मसित । नचाहदा नचाहदै औपचारिक धन्यवाद दिएर हिँडियो । त्यति नै बेला प्रजातान्त्रिक काग्रेसका शाक्य थरका काठमाडौंबासी नेता एक ग्यालिन तेल बोकेर माइक्रोबसमा छिर्दै गरेको देखियो ।
बेलुकी साढे ६ बजे बेल्कोटबाट उकालो लाग्दा मोटरसाइलले आफुलाई तान्छ होला भनेको त मोटरसाइकललाई पो आफुले धकेल्नुपर्ने भयो । किनेको ४ महिना पनि नभएको नयाँ मोटरसाइकलको यो गति देखेर हास्नु कि रुनु जस्तै भयो । पछाडि बस्ने मित्र प्रल्हाद भन्दैथिए- ‘पानीले मोटरसाइकल गुड्ने भए इराकदेखि पेट्रोल किन ल्याउनुपथ्र्यो !’  जिन्दगीमा पहिलोपटक धेरै समस्या बेहोरेर काठमाडौं आइयो । झरी परेको अध्यारो अनि सुन्दरीको अनुहारमा बिफरले आतंक मच्चाएजस्तो बिग्रेको बाटो । त्यसमाथि उकालो । मोटरसाइकलको हेडलाइटले सिधा देखेको ठाउमा कतै भीर कतै पहरा । ति गाउँ कटेर दुई घुम्ति पार गर्ने बित्तिकै माथिबाट खसेको पहिरोले झन्डै भेटेको । पहिरो शुरु भएपछी रात भए पनि एकजना गाउले गाडिहरुलाई साबधान गराउन बसेका रहेछन् उनैले हामीलाई बचाए । काठमाडौंमा तेलको हाहाकार छ । मान्छेले खाने तेल त पाइन्छ तर सवारी साधनलाई ख’वाउने तेल ठप्प । तेलमन्त्री महतो सद्भावनाको अध्यक्ष हुने दौडमाबेपत्ता हुदा आयल निगम सुतेर बस्यो अनि पेट्रोल पम्पहरुले बेस्सरी मौका छोपे ।
आयल निगमको अफीस खुल्ने दिउसो कुनै पम्पले तेल बाड्दैन । जव अफीस बन्द हुन्छ अनि शुरु हन्छ मिसावयटयुक्त तेलको ब्यापार । तेल आपुर्ति गर्न नसकेको निगमले अनुगमन गर्ने कुरा पनि आएन । आफ्ना नजिकका पम्पलाई तेल दिएर कमाउने मौका दिने उनीहरुको स्वार्थ पनि पुरा । जिल्लाका पनि सिडिओको फोन आएपछि मात्र तेल दिने पम्पहरुलाई उनैले कसरी छड्के गर्लान् र ! काठमाडौंमा तेल पाउनु युद्ध जिते बराबरै हो । कि राती १२ बजेदेखि लाइन बसियो भने बिहान ५ बजे तेल पाइन्छ ५ लिटर । कि ठुलाबडाकै चाकडि गर्नुपर्छ । मलाई पनि पुलिसका हाकिम कुबेर रानाले तेल मिलाइदिन्छु भनेका थिए तर राती प्रहरी हेडक्वार्टर गएर भनसुन गर्दै तेल माग्न लाजै लाग्यो ।
शुक्रवार राती नौ बजे बालाजु टेकियो । अरु बेला बढीमा २ घन्टाको बाटोलाई त्यसदिन पुरै ३ घन्टा लाग्यो । मोटरसाइकल अलिकति स्लो भयो कि स्टार्ट बन्दभ भैहाल्ने । भोलिपल्ट यामाहा केयर सेन्टरमा देखाउदा सबै पेट्रोल झिकेर फालिदियो । अब परेन फसाद् । त्यहाँका प्राबिधिक त भन्दै थिए- ‘यही तेलमा मोटरसाइकल चलाए दुई महिनापछि इन्जिन खोल्नुपर्छ ।’
दुःख गरेर कमाएको लाखभन्दा बढी खर्च गरेर किनेको मोटरसाइकलको यो हालत भएपछि कसरी सहनु । कुनै सिस्टम नभएको अराजक देशको जनता हुनु पनि ठुलो यातना रहेछ । भोलिपल्ट उपभोक्तावादी वकिल ज्योति बानियाँसित कुरा भयो । उनले पनि कानुनमा क्षतिपूर्तीको ब्यबस्था भए पनि त्यो नाम मात्रको भएको बताउदै झन निराश पो पारे । यतिखेर राजधानीका सडकमा देखिएको गाडिको लाइनले बिदेशीका लागि नेपाल धेरै सम्पन्न रहेछ भन्ने देखाउला तर लाइन लाग्नुको कारण सोधियो भने लाजमर्नु अवस्था छ । सरकार गाडि झिकाउन जति पनि अनुमति दिन्छ तर पेट्रोल ल्याउन सक्दैन ।
मजस्तो काठमाडौंमा बस्नेले चढेको मोटरसाइकलमा हालेको तेल अनुदानको ऋण कर्णालीमा बस्ने मोटरसाइकल नै नदेखेको गरीबको थाप्लोमा पनि बराबर पर्छ । सामाजिक न्यायको दृष्टिले पनि एउटाले उपभोग गरेको मल्य अर्को चुकाउनु अन्याय हो । उपभोग गर्नेले नै मुल्य चुकाउनुपर्छ । तर यहाँ धनीहरुले चढ्ने हेलिकोप्टरमा हालिएको तेलको मुल्य हेलिकोप्टर नै नदेखेकाहरुको थाप्लोमा जान्छ । यही असमानतालाई मेट्ने दिन पनि आउला त यो कुरा बुझाउने कसरी के दुई वटा अक्षरको एउटा शब्द थपेर साच्चै नै ‘नयाँ नेपाल’ बन्ला त ?
Posted by Diness Acharya at 15:26:21 | Permalink | No Comments »

सबैभन्दा बढी पत्रकारको हत्या २००७ मा

समाचार सङ्कलनमा खटिएका कम्तीमा एक हजार २०० पत्रकारहरुको इहलीला समाप्त
सन् २००७ को वर्ष विश्वभर आफ्नो काममा खटिएका कम्तीमा १७१ जना पत्रकार तथा अन्य साचारकर्मीहरुको मृत्युसँगै साचार जगतका लागि सबैभन्दा रक्तपातपूर्ण रहन पुग्यो । सेनाले श्रीलङ्काको एक रेडियो स्टेसनमा गरेको हवाई हमला तीन सम्पादन कर्मचारीहरु मारिएपछि वर्ष पूरा हुन अझै एक महिना बाँकी हुँदा सन् २००६ को सबैभन्दा उच्च १६८ मृत्युलाई यो वर्षको आँकडाले उछिन्न पुगेको छ ।
यो त्रासदपूर्ण आँकडाले साचार जगतमा कार्यथलोमा सुरक्षा र कल्याणकारी कार्यक्रम तल्लो विन्दुमा रहेको दर्शाउँछ । आइएनएसआईको हताहत अभिलेख अनुसार जनवरी १ देखि नोभेम्बर २८ बीच ३५ मुलुकमा १४२ पत्रकार र चालक अनुवादक र प्राविधिज्ञजस्ता २९ सहयोगी कर्मचारीहरुको मृत्यु भएको छ । त्यसमध्ये साचार पेशाकै कारण निसाना बनेका पत्रकारहरुको सङ्ख्या अधिक छ । यसरी हत्या हुन पुगेका साचारकर्मीहरुको सङ्ख्या १२१ छ । दोहोरो मुठभेडमा वा अन्य छिटफुट हमलामा ज्यान गुम्नेहरुको सङ्ख्या १५ छ भने सडक र हवाई दुर्घटनामा मारिनेको सङ्ख्या ३४ छ । एक पत्रकारको मृत्युको कारण भने खुल्न सकेको छैन । पत्रकारहरुको हत्याका घटना भएका मुलुकहरुमध्ये फेरि पनि इराक अग्रपङ्क्तिमा देखा परेको छ जहाँ यो वर्ष ६४ पत्रकारको हत्या भएका छन् । इराक युद्ध सुरु भए यता इराकमा मारिने पत्रकारहरुको सङ्ख्या जम्माजम्मी २३५ पुगेको छ ।

इराकपछि दोस्रो नम्बरमा श्रीलङ्का छ जहाँ छ वटा हत्याका घटना भएका छन् । अफगानिस्तान मे_िक्सको भारत र फिलिपिन्स हरेक मुलुकमा पाँच-पाँचवटा हत्या भएका छन् । हैटी पाकिस्त्ाान र सोमालिया प्रत्येक मुलुकमा चार-चारवटा हत्याका घटना भएका छन् । साचार प्रतिष्ठान साचालनका लागि श्रीलङ्काको स्थिति अति नै खतरापूर्ण भएको पुष्टुई भएको छ । त्यहाँको वायु सेनाले उत्तरी वान्नी प्रान्तमा विद्रोही एलटिटिईको आधिकारिक रेडियो स्टेसन भ्वाइस अफ टाइगस्रमा बम खसाल्दा तीन सम्पादन कर्मचारीसहित नौ व्यक्तिको मृत्यु भयो । मारिने सबै सर्वसाधारण नागरिक थिए । जेनेभा महासन्धि मुताबिक युद्धग्रस्त क्षेत्रमा पत्रकारहरुलाई सर्वसाधारण नागरिकको रुपमा संरक्षण दिइनुपर्दछ र द्वन्द्वमा प्रत्यक्षतः सहभागी नहुने नागरिकहरुलाई जानाजानी निसाना बनाउनु युद्ध अपराध मानिन्छ ।
यो वर्ष समाचार सङ्कलनमा खटिएका पत्रकारहरुको मृत्यु बढी सङ्ख्यामा भएको मुलुकमा इराकपछि संयुक्त राज्य अमेरिका देखा परेको छ । यो सहस्राब्दीको प्रारम्भदेखि नै प्रत्येक वर्ष विश्वभर साचारकर्मीहरुको हत्याका घटनाहरु बढेर गइरहेका छन् । हरेक वर्ष अघिल्लो वर्षभन्दा खराब बन्दै गएको छ । पत्रकार र साचारकर्मीहरुको हत्या नगर्न र हत्यारालाई दण्डित नगर्ने प्रथा अन्त्य गर्न अन्तरराष्ट्रिय आह्वान हुँदाहुँदै पनि यसो भएको छ । विश्वका राष्ट्रहरु र अन्तरराष्ट्रिय समुदायले यी आह्वानहरुलाई व्यवहार उत्तार्न ढिलो भइसकेको छ ।
आइएनएसआईको हताहत आँकडाको विश्लेषणले सन् १९९६ देखि २००७ को मध्यसम्म विश्वभर समाचार सङ्कलनमा खटिएका कम्तीमा एक हजार २०० साचारकर्मीहरुको इहलीला समाप्त भएको देखाउँछ । यसमध्ये दुई तिहाईको हत्या गरिएको छ र १० वटा मृत्युमध्ये नौ वटामा दोषीमाथि कार्वाही गरिएको भेटिँदैन ।
Posted by Diness Acharya at 15:09:15 | Permalink | No Comments »

च्यारेटीका लागी २७ घन्टा सेक्स

२७ घन्टे सेक्स लिलामी शुक्रवार बेलुका देखी 
देह ब्यापारमा सम्लग्न महिलाले आफ्नो २७ घन्टाको सेक्स ब्यापार च्यारेटीलाई लिलाम गर्ने घोषणा गरेकीछिन् । वार्षिक चन्दा सकंलन अभियानका अवसरमा मारिया क्यारोलाइनाले आफ्नो २७ घन्टे सेक्स ब्यापारको रकम च्यारेटीलाई दिने निर्णय गरेकी हुन् । क्यारेलाइनाको २७ घन्टे सेक्स लिलामको घोषणा पछि उनी रातारात सेलिब्रेटी बनिन् ।उनी समाचारका हेडलाइनका साथै विभिन्न टक सो मा छाउन थालेकीछिन् ।उनको २७ घन्टे सेक्स लिलामी शुक्रवार बेलुका देखी सुरु हुनेछ । सेक्स लिलामी गर्ने घोषणा गरेको केही समय भित्र नै उनको एक ग्राहकले चार हजार अमेरिकी डलरमा केही समय खरिद गरिसकेका छन् ।
चिलिले वयस्क देहब्यापारलाई कानुनी मान्यता दिएको छ । राष्ट्रब्यापि दुई दिने टेलटोन चन्दा सकंलनलाई टेलिभिजनका कलाकारले आयोजना गरेकाहुन् । चन्दा सकंलनबाट उठेका रकम गरिब र अपागं बालबालिकाका हितमा प्रयोग गरिने बताइएको छ । मारिया क्यारोलाइनाको अस्वभाविक अनुदानको बारेमा चन्दा सकलनका आयोजक मारयो क्रुजबरगरले अनैतिक कि्रयाकलापलाई प्रोत्साहन नगर्ने तर मारियाले दिएको सहयोग भने स्वीकार गर्ने बताए । क्रुजकबरगरले भने ‘आफुलाई मन लागेको काम गर्न सबैलाई छुट छ तर कसैले मलाई अनैतिक काम गर्दैछु भनेर भन्यो भने त्यसलाई म प्रोत्साहन गर्दिनु।’
क्यारेालाइनाले इन्टरनेट मार्फत आफ्नो रकम सकलन गर्ने प्रकि्रयाको बचाउ गरेकी छिन् । ‘कयौ मान्छेहरुले मेरो भन्दा निर्किष्ट तरिकाले पैसा सकलन गर्दैछन् । मैले त केबल आफ्नो रकम सकलन गर्ने तरिकाको खुलेर प्रचार मात्र गरे ।’
Posted by Diness Acharya at 14:57:18 | Permalink | No Comments »

माओवादीभित्र पोल खोलाखोल

पार्टी नाममा उठाएको रकमले कलंकीमा घर
बालाजु औद्योगिक क्षेत्रभित्र माओवादीको पाचौ बिस्तारित बैठकको निम्तो आएपछि नुवाकोटका माओवादीको बैठक बस्यो । सिन्धुली घर भएका कमरेड बिजय उर्फ कुमार दाहालको नेतृत्वमा बालाजु जाने टिममा जिल्ला पार्टी कमिटीका सेक्रेटरियट सदस्यहरु सबै जाने सहमति भए पनि त्यहा केही विवाद पर्यो ।
अनौपचारिक रुपमा सुनेको कुरालाई आधार मान्ने हो भने माओवादी पार्टीभित्रका आर्थिक अनियमितताका विषयलाई लिएर लामो विवाद भएको रहेछ त्यसबेला । थाहा पाएकाहरु भन्छन नुवाकोट माओवादीभित्र तिनवटा गुट छ रे । पोष्टबहादुर बोगटी, हितबहादुर तामाङ र हिरानाथ खतिवडाका छुट्टाछुट्टै गुटको चर्चा गर्नेहरु पनि धेरै छन् । गुट-उपगुट नुवाकोटको राजनीतिको पर्याय भए पनि भूमिगत पार्टी भएका कारण यसबाहेकका गुट तिनका कृत्यहरुबारे थाहा भएन । पाचौ बिस्तारित बैठकमा जाने विषयमा बसेको बैठकमा पार्टी नाममा उठाइएको चन्दाको हिनामिना र भूमिगत कालको आर्थिक अनियमितताको चर्चा पनि चलेछ ।
‘माओवादी जिल्ला सेक्रेटरी हिरानाथ खतिवडाले कलंकीमा गत साल घर बनाएका छन्’ रे । उनलाई उनकै पार्टीका जिल्ला सदस्य राजकुमार रेग्मी सन्देशले लगाएको आरोप हो यो । पार्टी नाममा उठाएको रकमले कलंकीमा घर बनाएको विषय छानबिन हुनुपर्ने आवाज उठाएपछि सन्देशले पनि इलाका इन्जार्ज हुदा चन्दा हिनामिना गरेको कुरा उनले पनि उठाए अनि चल्यो -पोल खोलाखोल ।

काठमाडौंको जग्गा र घरको विषयमा हिरानाथ उर्फ त्रिचन्द्रले त्यो घर आफ्नो दाई नारायण खतिवडाको तुप्चे सोलेस्थित राइस मिल बेचेर बनाएको प्रष्टिकरण दिए रे । त्यसबाहेक उनले त्यो आफ्नो ससुरालीको नाममा रहेको खुलाशा पनि गरेका छन भन्ने सुनियो । माओवादीले आफ्ना पार्टी कार्यकर्ताको सम्पत्ति सबै पार्टीकरण गर्ने चर्चा चलाएको बेला यतो कुरा आएपछि त्यसको जवाफमा सन्देशले पनि भनेछन् ‘दाईको मिल ७० हजारमा बेच्ने अनि काठमाडौंमा २२ लाखको घर बनाउने यसको छानवीन हुनुपर्छ ।’
त्यसबाहेक अन्य नेताका विषयमा पनि कुरा उठेको चर्चा चलेको छ । माओवादीका कमरेड मुक्ति अर्थात मुकुन्द पौडेलको श्रीमतिले बेलकोटमा गैरी खेत किनेको र काठमाडौमा घडेरी जोडेको देखि लिएर अन्य नेताका आफन्तले कमाएको ईष्र्या गर्ने जमात पनि धेरै छन् । माओवादी नेताका परिवार र आफन्तहरुको दैनिक जनजिवनमा देखिएको आधुनिकीकरणले यसलाइ पुष्टि गर्ने आधार खडा गर्छ । भर्खरै सुनेको कथ्य अनुसार जिलिङका एक माओवा्दी कमरेडले बट्टार बजारमा ठुलै मुल्य जाने जमिन जोडेका छन् रे । आफु हुदै ससुराली र ससुराली हुदै श्रीमतीमार्फत जोडिएको सो जग्गाको मुल्य ५० लाखको हाराहारी पर्ने कुरा पनि सुनियो । पुष्टि हुन बांकी नै रहेकाले यो विषयलाई मैले अर्को अंकको मसला बनाउने बिचार गरेको छु ।
त्यसो त माओवादी पार्टीभित्र पनि अरु पार्टीमा जस्तै आर्थिक हिनामिनाका प्रश्न धेरै उठ्ने गरेको छ । ाओवादीकै शब्दमा अरु गन्हाएका संसदवादी पार्टीको त कुरै नगरौं । यसैसाता जिल्लामा नया प्रकाशन हुन थालेको एउटा दैनिकले नेपाली काग्रेस पार्टीको कार्यालय भवन निर्माण र सकि्रय सदस्यता बितरणका क्रममा ब्यापक भ्रष्टाचार भएको कुरा छापेको रहेछ । कांग्रेस नजिककै छापामा प्राथमिकताका प्रकाशित भएका कारण अरुले जस्तै मैले पनि पत्याउन बाध्य हुनुपर् यो । किनभने यस्को कुनै खन्डन पनि त छापिएको रहेनछ ।
अब फेरी फर्कौं माओवादीकै रमितातर्फ । आर्थिक अनियमितता र पार्टी कारवाहीका विषयमा धेरै विवाद भएपछि यसलाई पछि छलफल गरेर टुग्याउने सहमति सहित बैठक स्थगित भएछ । त्यसै बैठकमा आर्थिक अनियमितता गरेको आरेापमा राजकुमार रेग्मीलाई इलाका इन्चार्ज र जिल्ला सेक्रेटरियट सदस्यबाट घटुवा गर्ने प्रस्ताव त्रिचन्द्रले राखेको भन्ने पनि सुनियो । उनलाई कारवाही गर्ने प्रस्ताबको कार्यान्वयन बालाजु बैठकबाट फर्केपछि गर्ने सहमति पनि भयो ।
सन्देशका घटुवा हुने सहमति भए पनि उनी बालाजुको बितारित बैठकमा सहभागि हुन आए । उनी भित्र पनि पसे तर पछि बन्द शत्रमा सहभागि लिस्टमा उनको नाम नरहेको भन्दै उनलाई निकालियो । त्यही बेलादेखि नै न्देश र त्रिचन्द्रबिचको द्वन्द्व उत्कर्षमा पुगेको थियो भनिन्छ । त्यहाबाट फर्केपछि उनले फिकुरीको पुलिस चौकीलाई हिरानाथमाथिको रिसको आहारा बनाए ।
यस्ता कुरा सुनेपछि अनियमितताको विषयमा जमेको विवादले माओवादीभित्र थुपै्रै गुट-उपगुट खडा गरेको कुरा आयो । सन्देशले केही समयअघि पार्टीबाट विद्रोह गर्दा सबै नालिबेली मिडियामा सार्वजनिक गर्छु पनि भनेका रहेछन् । बेलकोटनिवासी सन्देशलाई अलि उग्रवादी कार्यकर्ताको रुपमा मैले भूमिगत कालमै चिनेको हुँ । सार्वजनिक भएपछि उनले ‘दिनेशजी र म स्कुलमा सगै पढेको हुँ’, भन्थे रे । तर मलाई यसबारे कुनै सम्झना छैन । भूमिगतकालमै भेट हुँदा उनले यसबारे केही कुरा गरेजस्तो लाग्छ तर स्पष्ट भने भएन । पार्टीबाट विद्रोह गर्ने बेला उनले एकजना साथीसित मेरो मोबाइल नम्बर मागेका रहेछन तर खै मैले उनको फोन रिसिभ गर्न सकिनँ वा पाइनँ ।
सुन्देशलाई वाइसिएलले गिरफ्तार गरेपछि हिरानाथ लगायतका समुहले उनलाई प्रहरीमा बुझाउन बडो जोड गरेको भन्ने पनि सुनियो । हितबहादुर तामाङ लगायतले उनलाई पार्टीभित्र कारवाही गर्ने भनेका छन् रे । उनी बेपत्ता छन् प्रहरीले समाएको भए उनको जेलयात्रा कन्फर्म थियो । तर माओवादीले उनलाई के गरे कसो गरे थाहा भएन । काठमाडौं माछापोखरीको हल्लालाई आधार मान्ने हो भने त यसबाहेकका धेरै चर्चाहरु माओवादीका विवादका विषयमा सुनिन्छन् । तर यतिखेर बेपत्ता नागरिक सार्वजनिक गर्न आन्दोलनको घोषणा गरेका माओवादी आफैले बेपत्ता पारेको सन्देशले सार्वजनिक रुपमा केही नबोलेको विषयमा हामीले केही भन्न मिलेन । मैले सुनेको यत्ति हो यो सही हो गलत कि भगवानलाई थाहा छ कि माओवादीलाई नै । यो पत्ता लगाउने जिम्मा बिज्ञ पाठकहरुलाई नै ।
Posted by Diness Acharya at 14:45:40 | Permalink | No Comments »