Sunday, July 5, 2009

निर्मल प्रधान जितबहादुर र कालु गुरुङको शेयरमा चलखेल

पूँजी बजारमा यो साता ठूलो चलखेल भएको छ । सेयर बजार र बैंकिङ क्षेत्रका खेलाडीहरु मिलेर यो साता कृत्रिम सेयर कारोबार गरेका छन् । आपसी मिलोमतोमा सेयर बजारका खेलाडीहरुले सर्वसाधारणलाई मात्रै होइन सरकार र पूँजी बजारका नियमनकर्ताहरुलाई समेत नक्कली कारोबार गरेर गुमराहमा पारेका छन् ।
नेपालको पुँजीबजारमा चलखेलका घटना नौला होइनन् । केही सीमित वर्गमा रहेको विभिन्न कम्पनीका सेयरको मूल्य बढाउने र घटाउने खेलमा तिनै सेयर बजारका खेलाडीहरु रहेका हुन्छन् । वितेको साता यस्तै घटना घटेको छ नेपालको सेयर बजारमा। 
साताका चार दिन समग्र सेयर बजारमा गिरावट आएको थियो । तर अन्तिम दिन एकाएक बजारमा सुधार आयो । अधिकांश लगानीकर्ता रमाए ुबजारमा सुधार आयो अब नाफा हुन्छ । तर, यथार्थ अर्कै थियो । नेपालको सेयर बजार र बैंकिङ क्षेत्रका केही खेलाडीले सेयर बजारमा मिलेर ुखेलु खेलेका थिए। 
बैंकिङ क्षेत्र र सेयर बजारका खेलाडीहरुको बीचमा भएको मिलोमतोको कारोवारले बजारमा सुधार आएको देखिएको छ । यसरी मिलेर कारोबार गर्नेहरुमा प्रायः सबै ठूला बैंक तथा वित्तीय संस्थाहरुको सेयर होल्ड गरेर बसेका लगानीकर्ता निर्मल प्रधान सेयर बजारमा नयाँ लाग्ने जग्गा व्यवसायी एवं रिलायवल फाइनान्सका अध्यक्ष कालु गुरुङ र बैंक डुबाउने भनेर चिनिएका एनबी समूहका साचालकहरु जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ रहेका छन् । यो साता एनबी समूहको लगानी रहेको नेशनल हाइड्रो नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको अत्यधिक कित्ता सेयर खरिद बिक्री भएका छन् । नेशनल हाइड्रोको मात्रै साता भरमा नौ लाख २५ हजार एक सय १३ कित्ता सेयर कारोबार भएको छ । 
त्यस्तै साताको अन्तिम दिन बिहीबार नेपाल बंगलादेश बैंकको साधारण सेयर दुई लाख ५१ हजार नौ सय ४५ कित्ता कारोबार भयो भने नेपाल क्रेडिट एन्ड कमर्श बैंकका दुई लाख चार हजार चार सय ६० कित्ता साधारण र दुई लाख कित्ता प्रवद्र्धक सेयरको कारोबार भएको छ । तर यो कारोबार अस्वभाविकरुपमा
भएको छ ।
नेपाल बंगलादेश बैंक र एनसीसीका साचालक एनबी समूहले तिनै बैंकबाट करोडौं रुपैयाँको ऋण लिएको छ । दुवै बैंकमा रहेको ऋण चुक्ता गर्न राष्ट्र बैंकले ताकेता गरिरहेको छ । 
ऋण नतिरेका कारण नेपाल बंगलादेश बैंकले संस्थापक समूह एनबीको प्रवद्र्धकहरुलाई कालो सूचीमा राखेको छ । यही असार महिनामा सो समूहले बैंकको ऋण तिर्नुपर्ने सीमा तोकिएको छ । त्यसको लागि सो समूहलाई रकम चाहिएको थियो । ऋण लिनका लागि सो समूहले बैंकको सेयर अरुको नाममा नामसारी गरिदिएको मात्रै हो । 
समाचार अनुसार एनबी समूहले सेयर व्यापारी निर्मल प्रधान र घर जग्गा व्यापारी कालु गुरुङसँग ऋण लिएको छ । प्रधानसँग आठ करोड र गुरुङसँग १५ करोड रुपैयाँ ऋण सो समूहका प्रमुखहरु लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठले लिएका छन् । ऋणको धरौटीको रुपमा समूहले आफ्ना बैंकको सेयर नामसारी गरिदिएका हुन् । सहमति अनुसार प्रधान र गुरुङले एक वर्षको लागि ऋण दिएका हुन् । एक वर्षपछि प्रधानलाई ११ करोड र गुरुङलाई २१ करोड रुपैयाँ फिर्ता दिने सहमति भएको छ । एनबी समूहले ऋण तिर्न सकेन भने प्रधान र गुरुङले सेयर सदाको लागि आफ्नो बनाउने सहमति पनि भएको छ । एनबी समूहको आर्थिक अवस्थाका कारण प्रधान र गुरुङले विश्वास नगरेका हुन् ।
प्रधानले राजधानी इन्भेष्टमेन्ट कम्पनीको नाममा र गुरुङले रिलायवल इन्भेष्टमेन्ट कम्पनीको नाममा सेयर खरिद गरेका छन् । गुरुङ रिलायवल फाइनान्स कम्पनीका अध्यक्ष समेत हुन भने प्रधान कुमारी बैंकका मुख्य सेयर लगानी कर्ता हुन् ।
यस आधारमा यो कारोबार मिलोमतोमा भएको देखिएको छ । दुवै बैंकको सेयर एउटै सेयर ब्रोकरले बिक्री र खरिद गरिएको छ । सेयर ब्रोकर नम्वर २५ र १४ ले यी सेयरहरु आफै बेच्ने र आफै किन्ने गरेका छन् । यसले पनि यो निष्पक्ष कारोबार होइन भन्ने पुष्टि भएको छ ।  यस्तो म्युचुअल ट्रेडिङलाई सेयर वजारमा किर्ते काम भनिन्छ । धेरैजसो देशमा यस्तो गर्न बंचित छ । नेपाल स्टक एक्सचेाजले मिलोमतोमा कारोबार गर्ने स्टक ब्रोकरलाई बेला बेलामा कारवाही पनि गर्दै आएको छ । बजारमा औपचारिक रुपमा कारोबार भएकोले पनि नियमनकर्ता निकायलाई शंका गर्ने ठाउँ समेत सेयर बजारका यी खेलाडीहरुले बाँकी राखेका छैनन् ।
निर्मल प्रधानले नेशनल हाइड्रोको सेयर खरिद गरेपछि भोलिपल्टै सो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बृद्धि भएको थियो । प्रधान संचारमाध्यमबाट आफूले व्यवस्थापन जिम्मा  लिनका लागि सेयर खरिद गरेको प्रचार गरेका छन् । उनले आफूसँग नेशनल हाइड्रोको १५ लाख कित्ता सेयर रहेको र आठ लाख कित्ता खरिद गरेको समाचार नयाँ पत्रिका र नागारिक दैनिकमा छपाएका थिए ।  आफूले अझै पनि थप सेयर खरिद गरेर व्यवस्थापन नियन्त्रणमा लिने बताएका छन् । नेपाल बंगलादेश बैंकको साचालक समिति नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ । बैंकका सबैभन्दा ठूला ऋणीहरु प्रवद्र्धक भनिएको एनबी समूहका विभिन्न निजी कम्पनीहरु छन् । उनीहरुले बैंकबाट ऋण लिने नतिर्ने गरेका कारणक बैंक आर्थिक संकटमा परेको हो । राष्ट्र बैंकको व्यवस्थापनले सबै ऋण उठाउन तोकेता गरिरहेको छ । त्यस्तै एनसीसी बैंकमा पनि त्यस्तै अवस्था छ । संस्थापक समूह एनबीकै कम्पनीहरुमा दिइएको ऋण उठ्न नसकेपछि राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रकारका कारवाही पनि गरेको थियो । 

Posted by Diness Acharya at 10:21:06 | Permalink | No Comments »

Friday, August 8, 2008

‘बुलेट-प्रुफ ब्रा’

महिला प्रहरीलाई साइजअनुसार तीन ब्रा
जर्मनीका महिला प्रहरीको सुरक्षाका लागि ‘बुलेट-प्रुफ ब्रा’ को प्रयोग सुरु गरिने भएको छ । महिला प्रहरीको सामान्य ब्रामाथि बुलेट-प्रुफ ब्रा लगाउनुपर्ने बाध्यता भएकाले यो पूर्ण सुरक्षित नभएको जर्मन प्रहरीले बताएको छ । हैमवर्गकी प्रहरी वरिष्ठ अधिकारी कार्मन किबेटले भने ‘गोली लाग्दा बुलेट-प्रुफ ज्याकेटमा भएको धातु र प्लास्टिकको सानो टुक्रा भित्र धकेलिन्छ । यो टुक्रा महिला प्रहरीको सामान्य ब्रा छिचोल्दै शरीरभित्र छिर्न सक्छ । सामान्य ब्रा सुरक्षाका लागि खतरा छ त्यसैले यसलाई परिवर्तन गर्न जरुरी छ ।’ बुलेट-प्रुफ ब्राको दुई महिनासम्म महिला प्रहरीमा परीक्षण गरिएको थियो । त्यसपछि यसलाई युनिर्फमको हिस्सा नै बनाइएको छ ।
यो ब्रा सामान्य सेतो रङको खेलकुद ब्राजस्तो देखिन्छ । यसमा जर्मन भाषामा ‘प्रहरी’ लेखिएको छ । प्रत्येक महिला प्रहरीलाई आफ्नो साइजअनुसार तीन ब्रा दिइने बताइएको छ । जर्मन प्रहरीले तीन किसिमका ब्रा डिजाइनलाई अनुमति दिएको छ । जर्मन प्रहरी प्रवक्ताका अनुसार ‘हामी हाम्रो कर्मचारीको सुरक्षालाई सबैभन्दा माथि राख्छौँ । यसको नमुना नयाँ बुलेट-प्रुफ ब्रा हो ।’ जर्मनीमा तीन हजार महिला प्रहरीले यस ब्राको प्रयोग गर्न सक्छन् र महिला प्रहरीलाई यसको प्रयोग गर्न आग्रह गरिँदैछ । तर, यो नयाँ ब्रा लाउने/नलाउने प्रहरीको व्यक्तिगत इच्छामा भर पर्ने बताइएको छ ।

Posted by Diness Acharya at 07:36:29 | Permalink | No Comments »

Sunday, August 3, 2008

संगीतका लागि मन्त्री त्याग

उनी ब्राजिलका दोस्रो अश्वेत मन्त्री
ब्राजिलियन संगीतकार तथा संस्कृतिमन्त्री गिल्बर्टो गिलले संगीतमा केन्दि्रत हुन आफूले मन्त्रीपद छोड्न लागेको बताएका छन् । ६६ वर्षीय गिल २००३ देखि सरकारमा रहेका छन् ।
उनले सांगीतिक र राजनीतिक दुईटै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न केही समयदेखि आफूलाई अप्ठेरो भएको बताएका छन् । सार्वजनिक भाषण गर्नुपर्दा आफ्नो गायन क्षमतामा प्रभाव परेको गुनासो पनि उनले गरेका छन् । आफूले २००७ को अन्त्यतिर दुईपटक राजीनामा दिने प्रयास गरे पनि राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले राजीनामा बुझ्न अस्वीकार गरेको गिलले बताए । उनका अनुसार यसपटक भने राष्ट्रपति लुलाले उनी महान् कलाकार भएकाले आफ्नो प्राथमिकता नै उनका लागि महत्त्वपूर्ण भएको बताउँदै राजीनामा स्वीकृत गर्ने बताएका छन् । गिलको सांगीतिक करिअरसँगै राजनीतिक जीवन महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । १९६९ मा सैनिक तानाशाही शासनमा उनी र अर्का गायक केटानो भेलोसोलाई गिरफ्तार गरिएको थियो । केही समयपछि मुलुक छोड्ने सर्तमा उनीहरूलाई जेलबाट रिहा गरिएपछि गिल लन्डनमा निर्वासित भए । १९७२ मा गिल ब्राजिल र्फके । केही समय संगीतमा केन्दि्रत भएपछि उनले राजनीतिक जीवन प्रारम्भ गरे । राष्ट्रपति लुलाले उनलाई संस्कृतिमन्त्रीमा नियुक्त गर्दा उनी ब्राजिलका दोस्रो अश्वेत मन्त्री थिए । यसअघि विश्वविख्यात फुटबल खेलाडी पेले पनि संस्कृतिमन्त्री बनेका थिए ।

Posted by Diness Acharya at 09:06:33 | Permalink | No Comments »

राष्ट्रपतिलाई मनपर्‍यो श्रीमतीको नांगो फोटो

फ्रेन्च राष्ट्रपति निकोलस सार्कोजीकी श्रीमती कार्ला ब्रुनीले आफूले मोडलिङ गर्दाको नांगो फोटो देख्दासमेत श्रीमान् खिन्न नभएको बताएकी छिन् ।
पूर्व इटालियन मोडल ब्रुनीले सार्कोजीसँग गत तीन महिनाको प्रेम-सम्बन्धपछि गत फेब्रुअरीमा विवाह गरेकी हुन् । आफ्नो नांगो फोटो सार्वजनिक हुन सक्ने सम्भावनाप्रति उनले सार्कोजीलाई सचेत गराएकी थिइन् । तर, त्यो फोटो देख्दा सार्कोजीले उल्टै भने, ‘मलाई यो फोटो मन पर्‍यो । यसको एउटा पि्रन्ट पाउन सक्छु ?’ भ्यानिटी फेयर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा ब्रुनीले राष्ट्रपतिको यो भनाइ उद्धृत गरेकी छिन् ।
४० वर्षीय प्रथम महिला ब्रुनीले अन्तर्वार्तामा सार्कोजीसँग प्रेममा परेपछि मात्र मिडियाको हमलालाई आफूले पूर्ण रूपमा बुझ्न सकेको बताएकी छिन् ।
‘मेरो गल्ती यही थियो कि, म प्रेममा पागल भएँ । तर, यसको परिणाम कति व्यापक होला भन्ने बुझ्न सकिनँ,’ उनले भनिन् । उनका अनुसार सार्कोजी उनीप्रति अति आशक्त भइसकेका थिए । त्यसैले चिनजानको केही हप्तामै बिहेको प्रस्ताव राखेका थिए । सार्कोजीकी पूर्व दोस्री पत्नी सिसिलियासँग आफ्नो सम्बन्ध तनावपूर्ण रहेको तर, पहिली पत्नीसँग भने मैत्रीपूर्ण सम्बन्ध रहेको ब्रुनीले स्वीकारिन् ।
‘म सिसिलियासँग भेट्न र खाना खाने अवसर पाएमा रमाउनेछु । तर, मेरो विचारमा यसका लागि उनी र सार्कोजी दुवै तयार छैनन्,’ ब्रुनीले भनिन्, ‘उनीहरू अझै पनि प्रेम-अग्निमा जलेका छन् । उनीहरूबीच अत्यन्त गाढा प्रेम रहेको यसले प्रमाणित गरेको छ ।’
ब्रुनीले आफू गर्भवती भएको हल्ला अस्वीकार गरेकी छिन् र आफ्नो फुलेको पेटलाई बियर खाएर फुलेको बताएकी छिन् । सार्कोजीबाट सन्तान जन्माउनु आफ्नो सपना रहेको उनी बताउँछिन् । ‘सन्तान जन्मेको खण्डमा म संसारकै सबभन्दा सुखी व्यक्ति हुनेछु । नजन्मे पनि त्यो सैतानलाई म फकाउने छैन ।’ ब्रुनीको पूर्वप्रेमीका तर्फबाट एउटा छोरो छ भने राष्ट्रपति सार्कोजीका अघिल्ला दुई श्रीमतीबाट तीन सन्तान छन् । यसैगरी, सार्कोजीसँग बिहे गर्नुभन्दा अघि नै १५ व्यक्तिसँग प्रेम गरेको ब्रुनीले खुलासा गरेकी छिन् । एरिक क्लाप्टन, मिक जागर, डोनाल्ड टम्प आदिसँग उनको प्रेमसम्बन्ध गाँसिएको थियो ।
Posted by Diness Acharya at 07:59:30 | Permalink | No Comments »

“Olympic Countdown: Broken Promises”

IOC caves in to China’s demands on internet censorship

“The International Olympic Committee and the Organizing Committee of the Beijing Olympic Games should fulfil their commitment to ‘full media freedom’ and provide immediate uncensored internet access at Olympic media venues.  Censorship of the internet at the Games is compromising fundamental human rights and betraying the Olympic values,” said Mark Allison, East Asia researcher for Amnesty International.
The organisation was reacting to statements by Kevin Gosper, International Olympic Committee (IOC) press commission chair, saying “I regret that it now appears BOCOG has announced that there will be limitations on website access during Games time (…). I also now understand that some IOC officials negotiated with the Chinese that some sensitive sites would be blocked on the basis they were not considered Games related.”
Foreign journalists working from the Olympics press centre in Beijing are unable to access the Amnesty International website. A number of other websites are also reported to have been blocked. The IOC has on many occasions highlighted the loosening of restrictions on foreign media in China as an example of the promised improvement in human rights by the Chinese authorities through the hosting of the Olympics. On 1 April, Kevin Gosper said that the continued blocking of some websites would “reflect very poorly” on the hosts. On 17 July Jacques Rogge, IOC President, said “there will be no censorship of the internet.”
“This blatant media censorship adds one more broken promise that undermines the claim that the Games would help improve human rights in China,” said Mark Allison.
On Monday 29 July, Amnesty International published the report “Olympic Countdown: Broken Promises” which evaluates the performance of the Chinese authorities in four areas related to the core values of the Olympics: persecution of human rights activists, detention without trial, censorship and the death penalty. They all relate to the ‘core values’ of ‘human dignity’ and ‘respect for universal fundamental ethical principles’ in the Olympic Charter. The new report showed there has been little progress towards fulfilling the Chinese authorities’ promise to improve human rights, but rather continued deterioration in key areas.

Posted by Diness Acharya at 07:35:42 | Permalink | No Comments »

जीवनसाथी छनोटमा परिवर्तन

कमाउने श्रीमतीको चाहना
आर्थिक क्रियाकलापमा आएको आमूल परिवर्तनसँगै पुरुषहरूको जीवनसाथी छनोटमा पनि परिवर्तन आएको छ । भारतीय पुरुषहरू कमाउने कामकाजी श्रीमतीको चाहना राख्न थालेका छन् । उनीहरूका अनुसार आर्थिक रूपमा परिवारलाई सहयोग गर्नुको अलवा कामकाजी महिलाहरूले पुरुषले काममा भोग्नुपरेको अनुभवलाई बुझ्ने गर्छन् ।

बिक्री तथा वितरण म्यानेजर अमित बाजपेई भन्छन्, ‘विशेषगरी सहरी जीवनशैलीको बढ्दो आर्थिक भारमा पुरुषहरू सहयोगी हात चाहन्छन् । यस अलवा, कामकाजी श्रीमतीले आफ्नो श्रीमान्ले भोगेको कामको तनावको अनुभव संगालेका हुन्छन् । कामकाजी श्रीमतीसँग आफ्नो कामका बारेमा कुरा गर्न सकिन्छ । समयसँगै कामकाजी मानिसहरू स्मार्ट तथा तीक्ष्ण भएका छन् । हरेक दिन अनौठा घटनाको सामना गर्नुपर्छ ।’ मोडल मनपि्रत बार्र पनि सहरी युवाहरू कामकाजी श्रीमती चाहने बताउँछन् । ‘सामान्यता, घरेलु महिलाभन्दा कामकाजी महिला श्रीमान्सँग बढी मिल्न सक्छिन् । दुईजनाको कमाइ अर्काे फाइदा हो । अवश्य नै दोहोरो कमाइले जीवनस्तरमा सुधार आउँछ । पढाइ अघि बढाउन चाहने वा आफ्नै व्यापार गर्न चाहने पुरुषलाई कामकाजी जीवनसाथी भएमा धेरै सजिलो हुन्छ,’ मनपि्रत भन्छन् ।

बदलिएको आर्थिक अवस्थाले गर्दा आममानिसको विचारमा परिवर्तन आएको छ । आफ्नी श्रीमतीले आफूभन्दा बढी कमाउने तथ्यलाई समाज र पुरुष सहज रूपमा लिन थालेका उनीहरूको ठम्याइ छ । टेलिभिजन अभिनेता मनीष गोयल भन्छन्, ‘कामकाजी महिलाको म अत्यन्त सम्मान गर्छु । उनीहरूका श्रीमान्ले उनीहरूप्रति गर्व गर्नुपर्छ । विगत १५ वर्षदेखि मेरी श्रीमती काम गरिरहेकी छिन् । हाम्रो व्यवसायमा कार्यतालिका एकदमै व्यस्त र फरक किसिमको हुन्छ । मेरी श्रीमती पुनम पनि टेलिचलचित्रकै क्षेत्रमा काम गर्छिन् । उनी मेरो कामको परिस्थितिलाई बुझ्छिन् । कामकाजी श्रीमती हुनुको अर्काे मज्जा के हो भने तपाईंले महंगामहंगा उपहार पाउनुहुन्छ । मेरो जन्मदिनमा श्रीमतीले मलाई सधंै महंगा उपहार दिन्छिन् । लामो समयदेखि म के किन्न चाहिरहेको छु भन्ने उनलाई थाहा हुन्छ ।’ परिवारमा बढी कमाउने बोली चल्ने भन्ने विश्वास गर्दैनन्, आजभोलिका नवदम्पतीहरू । आजभोलिका पुरुष आफूले कजाउन सकिनेभन्दा राम्रो निर्णय गर्ने, सहयोग गर्न सक्ने श्रीमतीको खोजीमा पुरुष रहेका हुन्छन् ।

जनसम्पर्क अधिकृत अञ्जली शर्मा भन्छिन्, ‘दैनिकी खर्चलगायत दीर्घकालीन लगानीका बारेमा मेरा श्रीमान्ले मसँग छलफल गर्नुहुन्छ । हाम्रो प्राथमिकता एउटै छ । उहाँ परिस्थतिलाई पूर्णरूपले बुझ्नुहुन्छ । उहाँले मेरो विचारको सम्मान गर्नुहन्छ । वैवाहिक सम्बन्ध भनेको शक्ति परिचालन होइन । यो त परिवारको भलाइका लागि गतिलो निर्णय लिनु हो । आप\mनो श्रीमान्/श्रीमतीबाट सल्लाह लिनु सबैभन्दा राम्रो हो किनभने उनीहरूले मात्र बिनापूर्वाग्रह सही सल्लाह दिन सक्छन् ।’

तर, यो सबै परिवर्तनसँगै महिलाहरूमाथि बढी कामको बोझ थपिएको छ । घर र अफिस दुवै भ्याउन महिलाहरू दोहोरो मारमा परेका छन् । यसले वैवाहिक सम्बन्धमा असर पारे पनि पुरुषको सहयोगले यसको समाधान गर्न सकिने पुरुष आफंै बताउँछन् । वकिल अजय रैना भन्छन्, ‘मैले गत वर्ष बिहे गरेँ । बिहेको केही महिनापछि मेरी श्रीमतीले काम गर्न थालिन् । त्यसैबेलादेखि हाम्रो सम्बन्ध झन् प्रगाढ भएको छ । हामी आठदेखि दस घन्टा अफिसमा बिताउँछौँ । एकअर्कासँग बिताउन पाएको समयको हामी राम्रो उपयोग गछौर्ंँ । खाना पकाउन र सरसफाइ गर्न म उनीलाई सघाउँछु ।’

Posted by Diness Acharya at 07:30:15 | Permalink | No Comments »

Monday, July 28, 2008

यौनकर्मीले लाखौं डलर बैंकमा जम्मा गरे

हातमा निक्षेप पुस्तिका र कलम बोकेकी अक्कताईले यौन साझेदारको खोजीमा भौंतारिएका पुरुषहरुको नजर आफूमाथि पर्दा कुनै वास्ता गरिनन् । उनलाई त्यस्ता मानिसको वास्ता गर्ने फुर्सद नै छैन । यो प्रसङ्ग भारतको व्यापारिक राजधानी मुम्बईस्थित यौनबजारको हो । अक्कताइ यौनकर्मीबाट लिइएको पैसा बैंकमा लगेर जम्मा गर्छिन् । मुम्बइको कामतीपुरस्थित यौनबजारका दुइ सय ९४ वटा वेश्यालयमा घुमेर यौनकर्मीबाट जम्मा गरिएको पैसा बैंकमा पुर्याउनु उनको काम हो । ‘कतिपय महिला रातभरि नै व्यस्त हुन्छन् । उनीहरुले दिउँसो पैसा जम्मा गर्न नसक्ने बताएका छन् ।’ संगीनी बैकिङ सेवाकी कामदार अक्कताइले भनिन् । आर्थिक कारोबार गर्ने गैरसरकारी संघसंस्थाको ठगीमा परेका एसियाको सबभन्दा ठूलो उक्त यौनबजारका व्यवसायीले बैकिङ सुविधाको माग राख्दै आएका थिए । उनीहरुको मागलाई अमेरिकी गैरसरकारी संस्था पपुलेसन सर्भिस इन्टरनेशनल (पीएसआइ)ले गत जुलाइदेखि पूरा गरिदिएको छ ।

‘बिरामी परेपछि ग्राहक आउँदैनन् । त्यस्तो बेलामा उपचारका लागि सहयोग पुगोस् भनी दैनिकजसो १०/२० रुपैयाँ जम्मा गर्न थालेका हौं,’ यौनकर्मीको मानवअधिकारका लागि लड्दै आएकी मायाले भनिन् । उनी पनि यौनकर्मी नै हुन् । पीएसआइले संगीनी सहकारी संस्था खोली स्टेट बैंक अफ इन्डियामा खाता खोलिदिएको छ । उक्त खातामा यौनकर्मीहरु पैसा जम्मा गर्छन् । संस्थाले निक्षेपकर्ताको व्यक्तिगत विवरण र निक्षेप रकमबारे बैग्लै खाता बनाउँछ । आफ्नो परिचय खुल्ने कागजपत्र नभएका दुइ हजार पाँच सय महिलाले हाल उक्त खातामा एक लाख अमेरिकी डलर जम्मा गरिसकेका छन् । ‘कतिपय यौनकर्मीले त जीवनमै पहिलोपटक आफूसँग पैसा भएको महसुस गरेका छन् ।’, पीएसआइका आर्थिक व्यवस्थापक जीवन प्रकाशले भने । गत फेब्रुअरीदेखि संगीनीले प्रतिव्यक्ति वाषिर्क १५ हजार भारु ऋण पनि दिन थालेको छ । तीमध्येकी एक महिलाले ऋण लिएर आफ्नो यौनव्यवसाय पुनःनिर्माण गर्नुका साथै छोरालाई डीभीडी तथा मोवाइल फोनको पसल खोलिदिएको पीएसआइका कार्यक्रम व्यवस्थाक डीएन क्रसले बताएका छन् ।

Posted by Diness Acharya at 11:21:13 | Permalink | No Comments »

मैले भेटेको एउटी महिला

आन्विका गिरी
गएको सप्ताहन्तमा मैले एउटी यस्ती महिलालाई भेटेको छु जोसँग एकदमै प्रभावकारी, जादुमयी संचार क्षमता छ । जसले तपाईलाई उनको कुराका बारेमा कत्ति पनि अलमलिने समय दिँदैन । मैले भेटेकी यी महिलासँग भएको त्यो जादुमयी संचार क्षमताको बारेमा म तपाईलाई पढ्न अनुरोध पनि गर्दछु, यसकारण कि उनीसँग ती मान्छेका लागि योजना छन्, जो उनको संसारभन्दा परका थिए । उनले जन्मँदै ती मान्छेका संसर्ग पाएकी थिइनन् तर अहिले उनको रूचि, उनको कर्म, उनको योजना, उनको समय सबै ती मान्छेहरूका लागि समर्पित छ ।

भारतका प्रसिद्ध नृत्य निर्देशक संदिप सप्पोरकरले आफ्नो एक अन्तरवार्तामा आफ्नो जीवनको सबैभन्दा बिर्सन नसक्ने क्षण भनेको नेपालमा बहिराहरूलाई ब्याले संयोजन गरेको क्षण रहेको बताएका छन् । सप्पोरकर यस्ता नृत्य निर्दैशक हुन् जसले विश्व प्रसिद्ध गायिका मडोना र शकिरालाई पनि नृत्य सिकाएका छन् र बलिउडमा पनि उनका थुप्रै शिष्यले कमाल देखाइरहेका छन् । यस्ता सप्पोरकरले भनेका छन्, उनलाई विश्वास नै लागेको थिएन बहिराहरूले पनि नाच्न सक्छन् । बलिउडका यी व्यस्त नृत्य निर्देशकलाई मैले कुरा गर्न लागेकी यी महिलाले विश्वाश दिलाइन की बहिराले नाच्छन् र उनीहरूले नृत्यलाई पेशा बनाउन सक्छन् ।

हामी सारा गिरीको र उनको रमाईलो बहिराहरूको संसारको बारेमा कुरा गर्दैछौ । कुनै बेलाको रेडियो नेपालकी समाचारवाचिका अबको उनको परिचय होइन । धेरै संवाददाताले शुरू गरेको झैँ उनको परिचय उनको श्रीमनसँग जोडिएर आउनु उनको क्षमतामाथिको प्रश्न चिन्ह हो । त्यसको बारेमा यो लेखको लेखक पूर्ण रूपले सचेत छ । नेस्नल क्याम्पसको प्राज्ञिक निर्देशक (Director Academics) उनको जागिरे परिचय हो । तर यो लेख बहिरासँगको उनको काम, उनको अनुभव, उनको योजनामा केन्द्रित छ ।

सारालाई बहिराको संसारमा मंगोलजस्ती आँखा भएकी भनेर संकेतद्वारा चिनाइन्छ । उनको बुबा दोस्रो विश्वयुद्धमा नेपाली सेनाका तर्फबाट लडेका थिए, म्यानमारको रंगुनमा आमासँग भेट भयो र उनीहरू त्यही ‘सेटल’ भए । सारा आफ्नो उमेर २५ भन्दामाथि भन्छिन्, सायद उनलाई बहिराहरूका लागि धेरै काम गर्नुछ । आम मान्छेको औसत आयु १०० बर्ष भन्ने गरिन्छ, उनी आफ्नो उमेरलाई २५ मा रोकेर बहिराहरूका लागि काम गर्ने आफ्नो यात्रा लम्ब्याउन चाहिन्छिन् । यो अनुमान हो, उनीसँगको एकघन्टाको सम्वाद र उनका थुप्रै कामका बारेमा जानकारी पाएपछिको यो अनुमान सायद गलत नहोला!

झन्डै छ बर्ष अघि सारासँग संकेत थिएन । उनको संसारमा सुन्ने मान्छेहरू मात्र थिए त्यसैले जीवन अर्कै एउटा नियमित प्रक्रियामा चलिरहेको थियो । उनी एमबिए पढाउँथिन् बेंगलोरको कलेजमा । तर एउटा घटनाले जीवनमा परिवर्तन ल्यायो । सन् २००२मा चन्द्रशेखर इन्सीच्युट अफ स्पीच एण्ड हियरीङमा सप्ताहन्तको कक्षामा उनी भर्ना भएकी थिइन् । एक साँझ एकजना बहिराले कानसुन्नेले बहिराको कुरा बुझ्नै नसक्ने चुनौती दिए तब उनलाई लाग्यो केही गर्नुपर्छ । केही गर्न सकिन्छ । दश साता लाग्यो उनलाई संकेतमा कुरा गर्न, अनि त उनले आफ्नै घर प्रयोग गरेर बहिराका लागि एउटा फिल्म निर्माण र निर्देशन गरिन् । ‘ह्यान्डलिङ डिप्रेशन’ नामक उनको फिल्म अहिले पनि भारतको कर्नाटका राज्यका विभिन्न बहिरा विद्यालयहरूमा देखाइन्छ । सारा कुराको बीचबीचमा सांकेतिक भाषा यसरी प्रयोग गरिरहेकी हुन्छिन्, मानौँ उनी साँच्चै बहिरी हुन् । उनी बहिरालाई अपांगको कोटीमा राख्न नहुने धारणा राख्छिन् । उनलाई लाग्छ, हामी जो आफुलाई सुन्ने भन्छौ, अपांग त हामी हौ किनकि बहिराहरूको भाषा हामी बुझ्न सक्दैनौ । उनी भन्छिन, ‘बहिराहरू मेरा लागि अल्पसंख्यक समुह हुन् जसलाई बहुसंख्यक सुन्नेहरूले हेपेका छन् । बहिरालाई गलत तरिकाले परिभाषित गरेका छन्’ ।

उनले सिकेको सांकेतिक भाषा अंग्रेजी र हिन्दी थिए । नेपालीको संकेत जान्न उनलाई केही समय लाग्यो तर जब सबै भाषा उनले केही समयमै सिकिन् र बहिराहरूलाई आफ्नै निवासमा बोलाएर ब्याले सिकाउन थालिन् । संदिपले साथ दिए भने थुप्रै कक्षा उनी आफैले पनि लिइन् । उनी चाहन्थिन, बहिराहरूको ब्याले सो गर्ने तर नेपालको राजनीतिक परिवर्तनले उनको योजना पर सर्यो ।

अहिले उनी नेस्नल कलेजमा निर्देशकको कुर्सीमा विराजमान छिन् । उनी कलेज र बहिराको भविष्यको बारेमा एकैसाथ सोच्दैछिन् । उनलाई आफ्नो अधुरो सपना पुरा गर्नुछ र बहिराहरूले कान सुन्नेले भन्दा कुनै कम नाँच्दैनन् भनेर देखाउनु छ । छोराछोरी झैँ माया गरेका बहिराहरूलाई व्यवसायिक कलाकार बनाउनु छ । ‘बहिराहरू हावामा लेख्छन्’, एउटा दैनिकलाई दिएको अन्तरवार्तमा उनले भनेकी छिन्, ‘बहिराहरूका आँखा हावामा आकृति पढ्न अभ्यस्त हुन्छन् । उनीहरूमा कहिल्यै चुप लागेर बस्दैनन्, उनीहरूमा संचार झन् सघन हुन्छ । पाँच, सात जना भेट भए भने यति गर्मागर्मी बहस हुन्छ कि बुझ्नुभयो भने तपाई अचम्म मान्नुहुन्छ ।’
सारा संकेतबाट देखाउँछिन् बहिराहरूको दृश्य संसारको वर्णन गर्ने शक्तिको बारेमा । म बहिराको भाषा जान्दिनँ तर मैले केही संकेत छिटो-छिटो उनीसँगै दोहोर्याउने कोशिस गरेको छु । उनी संकेतबाट देखाउँदैथिन् कि कसरी बहिराहरू मानिसलाई उसको कुनै विशेष कुराबाट चिन्छन् र सम्पुर्ण बहिराहरूमा त्यो परिचयको संचार हुन्छ । बहिराहरूको दृश्य वर्णनको कमाललाई व्यवश्थित र व्यवसायिक बनाउन उनले मद्दत्त गर्ने जमर्को गरिन् । केही समय अगाडि कार्टुनिस्ट योगेश खपांगीलाई उनले बहिराहरूका लागि कार्टुन बनाउने तालिमको प्रशिक्षक हुनका लागि आग्रह गरिन् । सांकेतिक भाषा नजान्ने खपांगीलाई कुरा अनौठो लाग्यो, बहिरालाई कान सुन्ने तर सांकेतिक भाषा नजानेकोले कसरी सिकाउने ? तर साराले खपांगीलाई तयार पारिन्, उनको भाषालाई संकेतमा अनुवाद गरेर । साराले एकसाताको कार्टुन कक्षाको सम्पूर्ण कक्षाहरूलाई संकेतमा अनुवाद गरेकी थिइन् र आफु पूर्णत: बहिराझैं भएर ।

खपांगीले तालिमपछि कान सुन्नेलाई छ महिना लागाएर सिकाने कुरा बहिराहरूले एक सातामा सिकेको प्रतिक्रियाले सारालाई निकै उत्साहित बनाएको छ । उनी दंग हुँदै सुनाउँदै थिइन, ‘मेरा केटाकेटी गज्जबका छन्’ तर उनलाई यी सबमा अझ रंग भर्ने योजना छ, पुरा नभएको नृत्यको सो गर्ने र संसारलाई नेपालका बहिराको कला देखाउने। त्यसका लागि उनी पहल गर्दैछिन् । सहयोगी हात खोज्दैछिन् । उनलाई थाहा छ, उनका केटाकेटीले कसैलाई निराश तुल्याउने छैनन् तर कान सुन्नेले आफुलाई सपांग भन्ने यो संस्कृतिमा उनलाई केही घम्साघम्सी गर्नै पर्ने भएको छ ।

उनलाई बहिराका अगाडि बोल्न मन लाग्दैन । बहिरालाई ‘अन्डरइस्टीमेट’ गर्न खोजेको जस्तो लाग्छ त्यसैले उनी संकेतमा बोल्छिन् । उनलाई लाग्छ, कान सुन्नेहरू कान नसुन्नेको भाषा नसिकेर अपांग हुदैँछन् जसरी थुप्रै जर्मन बोल्नेको बीचमा जर्मन नबुझ्ने अपांगझैँ हुन्छ । त्यसैले जर्मन, जपानिज, अँग्रेजी भाषा सिकेझैँ बहिराको भाषा पनि सिक्नैपर्छ । बहिराहरू अनुदान वा सहयोग खोजीरहेका छैनन्, उनीहरू कान्न सुन्ने समुहसँग काम गर्न चाहन्छन्, कान सुन्नेहरूद्वारा उनीहरूको कामलाई स्वीकार गरून् भन्ने चाहन्छन् । समाजको जिम्मेवार सदस्यको नाताले उनीहरू समाजमा योगदान गर्न चाहन्छन् । साराले बुझाउन खोजेको कुरा यत्ति हो । बहिराहरूसँग काम गरेर उनी बहिराको यो कुरा कान सुन्ने सबै मानिसलाई सुनाउन, बुझाउन चाहन्छिन् । उनी आफ्नो आदर्श व्यक्तिको रूपमा हेलेन केलरको एउटा उद्धरण सम्झन्छिन्, ‘अन्धोपनले मानिसलाई वस्तुहरूबाट अलग्याउँछ, बहिरोपनले मान्छेलाई मान्छेहरूबाट एक्लो बनाउँछ’ त्यसैले उनी बहिराहरूको कुरा सुन्ने समाजलाई संचार गर्छिन् ताकि बहिराहरू यो समाजबाट नएक्लिउन् ।

सारा कुनै नेतालाई बोलाएर बहिराहरूको बारेमा भाषण गराउन चाहन्न् । उनको योजना अलग्गै छ, एउटा भिडियो प्रस्तुती जसमा कान सुन्नेका लागि आवाजको व्यवस्था गरिएको हुन्छ र त्यो कार्यक्रमको थिम हुनेछ, ‘वेलकम टु द वर्ल्ड अफ साइलेन्स’ ।

Posted by Diness Acharya at 11:06:30 | Permalink | No Comments »

Wednesday, July 16, 2008

विदेश

बहुविवाहग्रस्त महिला

भ्याटिकनबाट केही माइल पर नाजत हादी श्रीमान्, दस वर्ष कान्छी सौता र दुवैतर्फका सन्तानसँग बस्थिन् । इजिप्टमा जन्मेका उनका श्रीमान्ले उनलाई ज्यादै पिटेपछि उनले छोडेकी थिइन् । तर, उनका सन्तान भने बाबुसँगै रहे । उनका ती निर्दयी श्रीमान् रोममा पिज्जा बनाउने काम गर्छन् । हादीका जस्ता हजारौं बहुविवाह इटालीभर फैलिएको छ । रोमन क्याथोलिक मुलुकमा मुस्लिमहरूको यो तीव्र गतिको र बृहत् आप्रवासको सह-उत्पादन हो । इटालीका अधिकारीहरूले यसतर्फ आँखा चिम्लिएका छन् जसले गर्दा महिलाहरू अस्पष्ट अर्धभूमिगत संसारमा बाँच्न विवश छन् । उनीहरूसँग न्यून अधिकार मात्र रहन्छ भने कुनै स्रोत रहँदैन ।
‘इटालीजस्तो सभ्य मुलुकमा यस तथ्यलाई स्वीकार नगर्नु हास्यास्पद हो,’ मोरक्कोमा जन्मिएका इटालियन विधायक सौद सबई भन्छिन् । उनी इटालीमा रहेका महिला मुस्लिम आप्रवासीहरूको लक्ष्यमा समर्पित अभियानकर्ता हुन् । अरू युरोपेली मुलुकलेझैं इटालीले पनि बहुविवाहको मुद्दाको सामना गर्नुपरेको छ । ठूलो संख्यामा मुस्लिम समुदाय रहेका बि्रटेन र स्पेनका अधिकारीहरू बहुविवाहलाई मान्यता दिनुपर्ने पक्ष्ामा छन् जसले गर्दा पेन्सन, स्वास्थ सेवा र राज्यद्वारा प्रदान गरिने अन्य सुविधामा श्रीमतीहरूको पहुँच पुग्न सक्ने उनीहरूको धारणा छ । इटालीमा एकल महिला र एकल पुरुषको विवाहलाई मात्र स्वीकार गरिन्छ । इटालीमा २७ वर्ष बिताएकी ४७ वषर्ीया सबईको अनुमान अनुसार इटालीमा बहुविवाह गरेका १४ हजार परिवार छन् । अरूको भनाइमा यो संख्या अझ ठूलो हुन सक्छ ।
इटालीमा रहेका बहुविवाह गर्ने पुरुषहरूले बढी कट्टरपन्थी तथा दुव्र्यवहारपूर्ण बहुविवाहको रूप अख्तियार गरेकोमा सबई विश्वस्त छिन् । आफूवरिपरिको पश्चिमा संस्कृतिबाट खतरा महसुस गरेका उनीहरू आफ्ना श्रीमतीहरूलाई प्रायः थुन्छन् र आफूप्रति पूर्णतः निर्भर गराएर जीवनभरि एकान्तबासमा राख्छन् । ‘श्रीमतीहरूलाई एक प्रकारको जेलमै राख्छन्,’ सबई भन्छिन् । जब सबईले आप्रवासी मुस्लिम महिलाका लागि हटलाइन खोलन्, पहिलो तीन महिनामै एक हजार कल उनलाई प्राप्त भए । यो हटलाइनबाट उनी त्यस्तो लुकेको समुदायमा पुगिन् जहाँ महिला सूचनाका लागि आँतुर थिए । उनीहरू हिंस्रक, बहुविवाह भएको परिवारमा फसेका थिए, अलगथलग र एक्लो थिए ।
मोरक्कोकी हादीले असहाय भएको महसुस गर्दै श्रीमान्को कुटाइ र अपमान सहेकी थिइन् । उनले १९८७ मा इटालीमा श्रीमान्लाई भेटेकी थिइन् । त्यसपछि उनीहरूको बिहे भएको थियो । उनी छुट्टी मनाउन इटाली गएकी थिइन् । उनीहरूको विवाह रोमस्थित इजिप्सियन दूतावासमा भएको थियो । एक दशकमै उनले चार सन्तान जन्माइन् । सन् २००० को एक दिन हादी इजिप्टमा छुट्टी मनाएर फर्किन् । उनले इजिप्टमा आफ्नो श्रीमान्को परिवारमा आफ्ना बालबच्चालाई पनि लगेकी थिइन् । रोममा फर्किंदा उनले आफ्नो एपार्टमेन्टमा नयाँ महिला देखिन् । उनी बाहिर रहँदा श्रीमान्ले ती महिलासँग बिहे गरिसकेका थिए । हादीले पहिला त श्रीमान्लाई चुनौती दिइन् । तर, आफूले केही गर्न नसक्ने निधोमा उनी पुगिन् । ‘मेरा श्रीमान्ले भने, ‘मैले यो महिलासँग बिहे गरेको छु,’ हादी भन्छिन्, ‘मैले कारण जान्न चाहेँ । ती महिलालाई घरबाहिर पठाउन भनेँ । श्रीमान्ले अस्वीकार गरे । आफ्ना चार बालबच्चा लिएर म कहाँ जाने भनेर सोधेँ । मैले बालबच्चाको हितका लागि पछि ती महिलालाई स्वीकार गर्ने प्रयत्न गरेँ । तर, उनी दिमाग नभएकी महिला थिइन् ।’
हादीमाथिको श्रीमान्को कुटाइ बढ्दै गयो । हादी पटक-पटक अस्पताल पुगिन् । उनको छातीमा श्रीमान्ले हानेको छुरीको खत अझै छ । डेढ वर्षअघि श्रीमान्ले छोराछोरीलाई समेत कुट्न बाँकी राखेनन् । त्यसपछि हादीले घर छोडेर हिँड्ने निधो गरिन् । उनले अरू मोरक्कन महिलाबाट सबईको केन्द्रबारे थाहा पाइन् । उनले श्रीमान्विरुद्ध फौजदारी मुद्दा दायर गर्ने तयारी गरिन् । यो थाहा पाएर श्रीमान् बालबच्चासहित इजिप्टतर्फ भागे । हादीले आफ्ना बालबच्चा फर्काउन अभियान छेडिन् । उनी सबईको कार्यालयमा इमर्जेन्सी हटलाइनको काम गर्न थालिन् । यसरी उनी अरू मोरक्कन तथा आप्रवासी महिलाको पहुँचमा पुगिन् र उनीहरूलाई आफ्ना अधिकार र अवसरका बारेमा सूचित गर्न थालिन् । ‘महिलाले नै सधैं मूल्य तिर्नुपरेको छ,’ हादी भन्छिन् ।

Posted by Diness Acharya at 11:16:16 | Permalink | No Comments »

-संवाद-

बोर्डफस्ट डा. बाबुराम भट्टराईसँग 
२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ मा एउटा भर्खर जुँगाले निहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ । शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, त कृष्णले गीतामा जति शब्द खर्चिएर ‘कर्म गर फलको आशा’ नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीनमहिने शिक्षकलाई पनि चासो छ ।
अमरज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षक बाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- ‘आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजाअनुसार अमरज्योति हाइस्कुल, गोर्खा लुइँटेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्’ । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्‍यो र बाँकी पाठ पढाउन थाल्यो ।

करिब चालीस वर्षपछि ललितपुरको एकान्तकुनामा त्यस दिनको स्मरण गर्दा पनि डा. बाबुराम भट्टराईको अनुहारको भाव तटस्थ थियो । डाँडै-डाँडाले घेरिएको रिङरोडबाहिरको ललितपुरलाई बादलले आज निकै नजिकबाट घेरा हालेको छ । सेतो, कालो र फुस्रो बादलका झुप्पाहरू गुजुमुज्ज भएर सहरतिर ओर्लिन लागेजस्तो देखिन्छ । घरभित्र सौम्य, शालीन मुद्रामा भेटिएका डा. भट्टराई पनि बादलजस्तै शान्त देखिन्छन् । कोठामा माक्र्स, एङ्ग्लेल्स, लेनिन, माओको फोटो लहरै टाँगिएका छन् । तलपट्टि माओवादीले प्रस्ताव गरेको संघीय नेपालको नक्सा छ । पछि उनले बताए, ‘यो नक्सा मैले नै डिजाइन गरेको हुँ ।’ यस नक्साअनुसार उनको गाउँ अब तमुवान राज्यमा पर्नेछ, जसको सदरमुकाम उनले पोखरा घोषित गरेका छन् । देशमा आजसम्म थुप्रै विद्यार्थी एसएलसीमा बोर्डफस्ट भए । तर, बाबुराम भट्टराईको जस्तो ‘बोर्डफस्ट ग्ल्यामर’ न कसैको छ न हुने देखिन्छ । उनी उपत्यकाबाहिरका पहिलो बोर्डफस्टका रूपमा मात्र उनी प्रसिद्ध छैनन्, कहिल्यै दोस्रो नहुने ‘जिनियस’का रूपमा उनी अझ बढी प्रख्यात छन् ।
कसरी भइन्छ सधैं फस्र्ट ? यो मेरो मुख्य प्रश्न थियो । उनले सजिलो उत्तर दिए- ‘रुचि, लक्ष्य र मिहिनेतले ।’ तर, यति छोटो उत्तरले म मान्ने मुडमा थिइनँ । मलाई उनको पहिलो कक्षादेखिको पूरै कथा सुन्नु थियो । उनले सुरु गरे ।
‘मैले पढ्न सुरु गर्दा हाम्रो गाउँमा स्कुल थिएन ।’ ल, यो त अनौठो भयो, के बाबुराम भट्टराई बिनास्कुलका फस्र्ट हुन् त ? ‘त्यसो त होइन, मेरा जेठा बा हरिप्रसाद भट्टराई ज्योतिष हुनुहुन्थ्यो । उहाँले नै मलाई पहिलोपटक संस्कृतका श्लोक पढाउनुभएको हो,’ उनले भने । पुस्तकको पहिलो संगतचाहिँ यिनले मुहूर्तचिन्तामणिबाट गरे । ‘मैले रुद्री, चण्डी पढिनँ,’ ६-सात वर्षको उमेरको कथा सम्भिmए ।
१८ सालमा उनको गाउँमा एउटा नयाँ ‘चिज’ को थालनी भयो । नेपाली सेनाबाट बर्खास्त भएका भक्तबहादुर भुजेल गाउँका फुच्चेहरूलाई कखरा चिनाउन तम्सिए । ‘एकदिन उनले गाउँको चौतारामा गाउँका बच्चा जम्मा गरेर भर्ना लिए,’ बाबुराम बिस्तारै रोमाञ्चित हुँदै गएका छन् । टाउकाको रंग तिलचामलेबाट अलि अघि बढेपछि मान्छे पुराना कुराले बढी उत्साही हुन्छ । यी माओवादी नेता पनि त्यस्तै देखिए । कक्षामा सात वर्षका बाबुरामदेखि २०-२२ वर्षसम्मका विद्यार्थी थिए । ‘भुजेलगुरु टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान हामीलाई पिटी खेलाउँथे,’ उनले भने ।
चौतारी कक्षाको केही महिनामा भुजेल गुरुको स्कुल एउटा छाप्रोमा सर्‍यो । एक वर्षजतिको छाप्राका बासपछि अब उनी औपचारिक स्कुल शिक्षाका लागि तयार भए । घरदेखि अढाई घन्टा पैदल दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन कक्षामा भर्ना लियो । तर, यहाँ पनि स्कुलचाहिँ थिएन । ‘पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ,’ उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो । ‘म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ,’ उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे, फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो ।
पाँच कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए । ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे । दस कक्षासम्मै बाबुरामपछिको दोस्रो भएर यिनले यसको पुष्टि पनि गरे । ‘उपेन्द्र सधैं दोस्रो हुन्थे । उनको र मेरो नम्बरमा प्रायः सय नम्बरभन्दा बढीकै अन्तर हुन्थ्यो, उनको र तेस्रोको बीचमा पनि यति नै फरक हुन्थ्यो,’ बाबुरामले भने । सयभन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो । ‘उपेन्द्रको र मेरो टेस्टमा ६९ नम्बरको फरक पर्‍यो । रोचक त के भने एसएलसीमा पनि हाम्रो ६९ नम्बरकै फरक थियो,’ यो एउटा समानताको कथा थियो । यससँगै एउटा अन्तरको कथा पनि छ, एसएलसीमा बाबुराम बोर्डफस्ट भए, उपेन्द्र दसौं ।
बाबुरामलाई कहिल्यै लागेको थियो बोर्डफस्र्ट हुन्छु भन्ने ? ‘कल्पनासमेत गरेको थिइनँ । जाँच राम्रो गरेको छु भन्ने चाहिँ लागेको थियो,’ उनले सुनाए । रेडियोमा रिजल्ट सुनेपछि उनी सरासर डेरामा पुगे । ‘डेरामा पुग्दा त वरिपरिका केटाहरू अबिर लिएर बसेका रहेछन्,’ अनि बल्ल सुरु भयो ‘सेलिब्रेसन’ । अब भने उनलाई आमा-बालाई पनि यो खबर सुनाउन मन लाग्यो । ‘भोलिपल्ट म घर गएँ । आमा-बा खेतमा काम गरिरहनुभएको थियो । उहाँहरूलाई भनेँ । तर, अर्धसाक्षर बा र असाक्षर आमालाई मेरो खबरले खासै असर पारेन । तर, बेलुकीपख मेरो गाउँका मानिसहरूले पनि अबिर लगाइदिए । अनि बल्ल बा-आमालाई पनि ए ! केही राम्रै भएको रहेछ क्यार भन्ने थाहा भयो,’ उनले भने । पछि उनको स्कुलले एउटा कार्यक्रम गरी उनलाई अबिर लगाइदियो र सय रुपैयाँ पुरस्कार दियो । एउटा उत्सवको अन्त्य यसरी भयो । त्यतिवेला कुनै ‘प्लस टु’ थिएनन् न त पत्रिकामा विज्ञापनको चलन नै थियो । तैपनि, महिनौं समाचार र फोटो छापिने फस्र्टहरूको तुलनामा बोर्डफस्र्ट बाबुरामको ग्ल्यामर बढी चम्किलो छ ।
‘फस्र्ट हुनु भनेको लत हो,’ आज उनलाई यस्तो लाग्छ । ‘फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो,’ उनले विश्लेषण गरे- ‘एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ ।’ एसएलसीको केही समयपछि झोलामा गुन्दु्रक पोको पारेर उनी लमतन्न परेर सुतेको पालुङटारको मैदानमा झरे । ‘त्यतिवेला पृथ्वीराजमार्ग खुलेको थिएन, काठमाडौं आउन जहाज चढ्नुपथ्र्यो,’ सो उनी चालीस रुपैयाँको टिकट काटेर काठमाडौं छिरे । अनि सुरु भयो, जीवनको अर्को अध्याय, सहरसँग जोडिएको अध्याय । पालुङटारको जहाजले उनलाई एकैपटक अर्कै लाग्ने दुनियाँमा ल्याइपुर्‍याएको थियो ।
‘स्कुलमा मलाई गणित निकै मन पथ्र्यो,’ अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए । ‘स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय,’ उनले भने र एउटा पुरानो किस्सा सुनाए । ‘हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइदिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो ‘कमन सेन्स’ प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ ।’ यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । ‘म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नै मलाई यो कुरा बताए,’ उत्साही मुडमा उनले भने ।
बाबुराम जम्माजम्मी अंकमा मात्र फस्र्ट हुन्थेनन्, ‘म हेरक विषयमा फस्र्ट हुन्थेँ’ काठमाडौंको कथामा प्रवेश गर्नुअघिको कुरा उनले सुनाए । काठमाडौं फरक थियो, उनले आएपछि थाहा पाए । काठमाडौंका सेन्ट जेभिएर, आनन्दकुटीका परर्र अंग्रेजी बोल्ने विद्यार्थीका अगाडि केही दिन उनलाई बोर्डफस्र्ट भएर पनि आफू नजान्ने जस्तो लाग्यो । ‘लेख्न त म अंग्रेजी राम्रो लेख्न सक्थेँ, तर बोल्ने हाम्रो अभ्यास थिएन,’ कारण यस्तो थियो । पहिलो तीनमहिने परीक्षाको नतिजा नआउन्जेल काठमाडौंका विद्यार्थीलाई पनि यस्तै लागेको थियो । तर, जब पहिलो परीक्षाको नतिजा आयो फेरि बाबुराम नै फस्र्ट भए । ‘त्यसबेला तीन-तीन महिनामा परीक्षा हुन्थ्यो, यसको पचास नम्बर जोडिन्थ्यो, अन्तिम परीक्षा पचास नम्बरका लागि हुन्थ्यो,’ उनले भने । यो पहिलो तीनमहिने परीक्षामा उनले अंग्रेजीमा ७५ ल्याएका थिए जुन अस्कलको सबैभन्दा बढी थियो ।
अस्कलको कक्षामा उनीसँग अरू पनि केही चिनिएका नाम पढ्थे । यिनमा गणेशमानसिंहका छोरा प्रदीपमान सिंह, मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी र शाहीकालका मन्त्री कमल थापा सामेल थिए । यिनीहरूचाहिँ कस्ता विद्यार्थी थिए त ? ‘प्रदीप र प्रकाश सामान्य थिए तर कमल थापा पहिलेदेखि नै अलि हावा थिए । उनी अन्तिम बेन्चमा बसेर हल्ला गर्ने, केटी जिस्क्याउने कुरामा पहिलेदखि नै तेज थिए,’ भट्टराईले सुनाए ।
तर, परीक्षाहरू सधैं सजिला हुँदैनन् । उस्तै पनि हुँदैनन्, हुने भए मानिसले बारबार परीक्षा दिनुपर्थेन होला, एउटा परीक्षा पास गरेपछि जीवनमा अरू परीक्षा हुन्थेनन् होला । आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । ‘फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ,’ यसले उनको रिसको पारो पनि बढाइदियो । ‘मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ,’ अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, ‘रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु,’ यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- ‘मलाई कसैले जित्न सक्दैन ।’ नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।
‘अस्कल पढ्दा म लेखनाथ पौडेलको घरको छिँडीको कोठामा महिनाको पचास रुपैयाँ भाडामा बस्थेँ अरू दुई साथीसहित,’ यसो भनेर उनले आफूले कसरी भाडा माझ्ने काम रोजेर पढ्ने समय रोज्थे भन्ने सुनाए । बाबुरामले जीवनमा कहिल्यै ट्युसन पढेनन् । र, उनलाई आज पनि लाग्छ, ‘ट्युसन पढेर कोही पनि जान्ने हुँदैन ।’ यति मात्र होइन, उनले नेपालमा पढिन्जेल कहिल्यै राति दस बजेभन्दा बढी पढेनन् । ‘म कहिल्यै जाँचको वेला पनि राति ढिलोसम्म बसेर पढिनँ,’ उनी सम्भिmन्छन् ।
के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? ‘होइन’ केले हो त ? ‘म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे,’ उनले रहस्य खोले । ‘पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन,’ उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् । ‘मेरो पढाइमा भक्तबहादुर भुजेल, अमरज्योतिकी शिक्षिका एलनुर एल्किन्स र पिएचडीकी गाइड अतिया हबिबको भूमिका सबैभन्दा बढी छ,’ उनी राम्रा चेला देखिए ।
आइएससीपछि उनी कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढको पन्जाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गए । यहाँ पाँच वर्ष पढ्दा भने उनी बोर्डफस्र्ट हुन पाएनन् । नसकेर होइन, यहाँ बोर्डफस्र्टको चलन थिएन, ‘ग्रेड सिस्टम थियो, म सधैं पहिलो ग्रेडमै पर्थें ।’ चण्डीगढबाट सहरी विकास विषयमा पोस्ट ग्रयाजुयटका लागि उनी दिल्ली आए । यो नेपालमा ०३६ सालको विद्यार्थी-आन्दोलन र जनमत-संग्रहको वेला थियो । ‘यतिवेला म राजनीतितिर लागिसकेको थिएँ, नेपाली विद्यार्थी युनियनको सभापति थिएँ,’ उनी जीवनको अर्को अध्यायतिर प्रवेश गर्दै छन्, जुन विषयमा मलाई अहिले त्यति रुचि छैन । तर, उनी धेरै टाढा पुगेनन्, राजनीतिसँग जोडिएको पढाइको अर्को एउटा कथा सुनाउनतिर लागे । र, यसमा मलाई कुनै आपत्ति थिएन ।
‘त्यसवेला राजनीतिक काममा यति लागियो कि अन्तिम परीक्षाको समयमा मसँग समय थिएन । स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्‍यो,’ जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । ‘शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ,’ उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए ।
यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा ‘रिजनल डेभलपमेन्ट प्लानिङ’मा विद्यावारिधि । ‘त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजे निस्किन्थेँ,’ उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । ‘पिएचडीका वेला सिंहदरबारअगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ,’ डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन, पढ्ने पनि लत नै रहेछ ।
जंगलको यात्राबाट फेरि सहर फर्किएर सत्ताको नजिकै पुगेको पार्टी माओवादीका नेताका रूपमा उनको राजनीतिक छवि एक ठाउँमा छ । ‘सधैं फस्र्ट’ को अर्को छविले अहिले छेउमा बसेर राजनीतिको सडकमा बेपत्ता कुदिरहेका बाबुरामलाई एकोहोरो हेरिरहेको छ । खुद बाबुरामलाई पनि अहिले लाग्छ, पहिलेको जति अहिले पढ्न सकिएन । गाणतन्त्र घोषणा भएको केही दिनमा उनलाई गृहमन्त्री कृष्ण सिटौलाले एकदिन जिस्क्याए- ‘अब त गणतन्त्र आयो नि डाक्टरसाब ! अब जाने होइन त पढ्न ?’ उनले कुरा अथ्र्याए- ‘शान्ति-सम्झौता हुँदाताका मैले सिटौलालाई भूमिगत हुँदा पढ्न पाइन्थ्यो अहिले त पढ्नै पाइनँ, पढ्ने धीत मरेन भनेको थिएँ, उनले त्यही भएर जिस्क्याएका ।’
जिस्क्याउन त कहिलेकाहीँ यिनलाई आफ्नै मनले पनि जिस्क्याउँछ । एउटा सेतो प्लास्टिकको झोलामा संगालेर राखेका केही थान राइटिङ प्याड छन् । कुराकानीकै बीचमा उनी उठेर भित्र छिरे, फर्किंदा हातमा त्यही पोको थियो । मैले आजसम्म देखेका सबैभन्दा साना अक्षर यी डायरीमा थिए । यी अक्षरको अर्को विशेषता थियो, सारै साना भएर पनि यी एक-आपसमा जोडिएका थिएनन्, जसले पनि पढ्न सक्ने गरी प्रस्ट थिए । ‘यो भूमिगत हुँदा पढेका किताबबाट टिपेका टिपोट हुन्, यिनलाई संगालेर किताब निकाल्नुपर्ने,’ यो मनभित्रको एउटा हुटहुटी हो । नेपाली समाजको भौतिकवादी व्याख्या गरेर किताब लेख्ने धोको पनि उनमा छ ।

Posted by Diness Acharya at 10:57:04 | Permalink | No Comments »